रामेछाप । उमाकुण्ड गाउँपालिकाले स्थानिय पाठ्यक्रम निर्माण कार्यदलका सदस्यहरूका लागि २ दिने स्थानिय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।
यही असोज १२ र १३ गते दुई दिन गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यदल र स्थानीय पाठ्यक्रम निर्माण प्राविधिक टिमका सदस्यहरूका लागि सो अभिमुखीकरण कार्यक्रम गरेको हो ।
विभिन्न चरणमा आयोजना हुने अभिमुखिकरण कार्यक्रममा पहिलो चरण अन्तर्गत पाठ्यक्रम निर्माण कार्यदलका शिक्षकहरुलाई सो अभिमुखिकरण गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रासा ङावा शेर्पाले जानकारी दिनु भएको छ। सो कार्यक्रममा पाठ्यक्रम निर्माण अन्तर्गत सिकाई तथा अध्यायन गराउनका लागि शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानाेठिमी भक्तपुरका उपसचिव परशुराम तिवारी र पाठ्यक्रम अधिकृत खिल नारायण श्रेष्ठले सहजिकरण गर्नुभएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न सक्ने व्यवस्था गरेको पाठ्यक्रममा गाउँपालिकाको चिनारी, सामाजिक तथा संस्कृति मुल्यमान्यता, हाम्रो सम्पदा, कृषि तथा उत्पादन, सीप, प्रविधि तथा आयआर्जन, हाम्रो स्वास्थ्य, आहार र खेलकुद त्यस्तै वातावरण र विपद् व्यवस्थापन सहित सातवटा क्षेत्र बनाई कार्यदलका सदस्यहरूलाई कार्य विभाजन गरि उक्त क्षेत्र अध्यायन गर्न जिम्मेवारी प्रदान गरिएको छ ।
पाठ्यक्रम निर्माण कार्यदल गत भदौ १३ गतेको शिक्षा समितिको बैठकले गठन गरेको शिक्षा शाखाले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि गाउँपालिकाले सार्वजनिक गरेकोे कार्यतालिका अनुसार चैत मसान्तसम्म छपाइ तथा प्रबोधीकरण गरि शैक्षिक सत्र २०८१ बाट विद्यालयमा लागु गर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाले हाल स्थानीय पाठ्यक्रम निर्माण नहुदा सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा १०० पूर्णाङ्कको बैकल्पिक रुपमा अंग्रेजी सामान्य ज्ञान र व्याकरण पढाउने गरेका छन् ।
स्थानीय पाठ्यक्रम निर्माण गर्दा आर्कोले निर्माण गरिएको पाठ्यक्रमलाई हुबहु कापी पेस्ट गर्ने परिपाटीलाई छाडेर आफ्नै स्थानीय परिवेशमा केन्द्रित भएर यहाँका वस्तुस्थिति अनुसार विषयवस्तुलाई समेट्न सक्नुपर्नेमा शिक्षा युवा तथा खेलकुद शाखाका प्रासा ङावा शेर्पाले जोड दिनुभएको छ ।
उमाकुण्ड गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बजेटमा शिक्षा तर्फ १ करोड ८० लाख बजेट मध्ये स्थानीय पाठ्यक्रम निर्माण तथा छपाईकाे लागि दस लाख बजेट विनियोजन गरिएको छ ।
Discussion about this post