Loading

१५ टिमको सहभागितामा ‘भुजी लिग २०८३’ सुरु, विजेताले १ लाख ४८ हजार रुपैयाँभन्दा बढी पाउने

१५ टिमको सहभागितामा ‘भुजी लिग २०८३’ सुरु, विजेताले १ लाख ४८ हजार रुपैयाँभन्दा बढी पाउने

 

रामेछाप । उमाकुण्ड गाउँपालिका–७ भुजीमा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘भुजी लिग २०८३’ सुरु भएको छ। कात्तिक १० गते सोमबार गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोग तथा फुटबल क्लब भुजीको आयोजनामा सञ्चालित प्रतियोगितामा १५ टिम सहभागी छन्। उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका टिमबीचको खेल कात्तिक १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सुनुवारले खेलकुदले स्थानीय युवाको प्रतिभा उजागर गर्नुका साथै गाउँपालिकाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

वडा नं. ७ भुजीस्थित अमृत घाम छाया फुटबल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले नगद १ लाख ४८ हजार ८ सय २८ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले ७४ हजार ८ सय २८ रुपैयाँ तथा सेमिफाइनलमा पुग्ने टोलीले १८ हजार २ सय २८ रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई समेत ट्रफीसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ।

स्थानीय युवालाई खेलकुदमा आकर्षित गर्दै स्वास्थ्य, अनुशासन, आपसी भाइचारा र खेल भावना विकास गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। कात्तिक १५ गते हुने फाइनल खेलसँगै यस वर्षको भुजी लिगको विजेता टोलीको टुङ्गो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *