तनहुँ, २० कार्तिक । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गतको काम करिब ८० प्रतिशत सम्पन्न भएको छ ।
चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको प्याकेज–२ अन्तर्गत भूमिगत विद्युत्गृह, सुरुङ तथा अन्य प्रमुख संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचनाको उत्खनन सम्पन्न भइसकेको छ भने अधिकांश सिभिल निर्माण पूरा भएको छ । मुख्य सुरुङको कङ्क्रिट लाइनिङ तथा विद्युत्गृहमा जेनेरेटर, टर्बाइन र ट्रान्सफर्मरलगायत उपकरण जडान र परीक्षणको काम भइरहेको छ ।
विद्युत्गृह तथा बाँध सञ्चालन भवन निर्माण पनि जारी रहेको आयोजनाले जनाएको छ । प्याकेज–२ का संरचना र उपकरण जडान सम्पन्न भएपछि विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।