उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–५, रुपाटारमा सम्पन्न खुला अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको पुरुषतर्फ भानुगङ्गा युवा क्लब कटहरे र महिलातर्फ रौतामाई गाउँपालिकाले उपाधि जितेका छन् ।
गत कात्तिक १९ गतेदेखि सञ्चालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । ताप्ली गाउँपालिकाको प्रायोजन, ताप्ली युवा तथा खेलकुद विकास समितिको सहकार्य र रुपाटार युवा समाजको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
पुरुषतर्फको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै भानुगङ्गा युवा क्लब कटहरेले प्रथम स्थान हासिल गरेको छ । उपाधिसँगै क्लबले एक लाख १० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, आयोजक ताप्ली गाउँपालिका द्वितीय हुँदै ५५ हजार रुपैयाँ र रौतामाई गाउँपालिका तृतीय हुँदै २५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड तथा मेडल प्राप्त गर्न सफल भएका छन् ।
महिलातर्फको प्रतिस्पर्धामा लिम्चुङबुङ गाउँपालिकालाई पराजित गर्दै रौतामाई गाउँपालिकाले उपाधि हात पारेको छ । विजेता रौतामाईले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेता लिम्चुङबुङले ३१ हजार रुपैयाँ र तृतीय भएको ताप्ली गाउँपालिकाले १६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
रुपाटारस्थित ताप्ली गाउँपालिकाको खेलमैदानमा नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर तथा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताले स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा अन्तरपालिका खेलकुद सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।