भोजपुर । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त वेबसाइटमार्फत मुन्दुम पदमार्गसहित प्रदेशका अन्य पर्यटकीय क्षेत्रबारे जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
उनका अनुसार वेबसाइटले मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्राको योजना बनाउन र आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउनेछ । वेबसाइटमा पदमार्गको अवस्थिति, गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे विवरण समेटिएको छ ।
भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, किरात संस्कृति तथा ऐतिहासिक र धार्मिक महत्वका स्थलका कारण पर्यटकमाझ आकर्षक गन्तव्यका रूपमा परिचित छ ।
वेबसाइट सञ्चालनले पदमार्गको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान विस्तार गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय, घरबास (होमस्टे) र आर्थिक गतिविधि प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
वेबसाइट: https://tourism.koshi.gov.np