दोलखा । तिहारलाई लक्षित गरी दोलखा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिब एक लाख रुपैयाँ बराबरका पटका तथा आतशबाजीजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनका अनुसार अवैध रूपमा भण्डारण गरिएका पटका, आतशबाजी तथा विस्फोटकजन्य सामग्री मंगलबार बरामद गरी नष्ट गरिएको हो ।
चाडपर्वका बेला पटका पड्काउँदा आगलागी, दुर्घटना, धनजनको क्षति तथा ध्वनि र वायु प्रदूषणको जोखिम बढ्ने भएकाले सुरक्षा जाँचमा कडाइ गर्दै कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वलाई सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गर्दै अवैध विस्फोटक पदार्थको प्रयोग तथा कारोबार नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।