रामेछाप । रामेछापका प्रतिनिधिसभा सदस्य डा. कृष्णहरि बुढाथोकी तिहारलगत्तै ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रममार्फत जिल्लाका विभिन्न स्थानमा पुगेर नागरिकका समस्या, गुनासा र सुझाव संकलनमा जुटेका छन्।
प्रतिनिधिसभाको अर्थ समितिका सभापतिसमेत रहेका बुढाथोकीको भेटघाटलाई धेरैले सकारात्मक रूपमा लिए पनि बजार क्षेत्रमा मात्र सीमित नभई दुर्गम गाउँबस्तीसम्म पुग्न नागरिकले सुझाव दिएका छन्।
भेटघाटका क्रममा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, स्थानीय उत्पादनको बजारीकरण तथा प्रत्येक पालिकामा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्नुपर्ने मागसमेत उठेका छन्।
यता, केही नागरिकले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुरु भएको सक्रियतालाई चुनाव लक्षित गतिविधिका रूपमा समेत टिप्पणी गरेका छन्। उनीहरूले जनप्रतिनिधि निर्वाचनको समयमा मात्र नभई नियमित रूपमा जनतामाझ पुग्नुपर्ने बताएका छन्।
नागरिकले सांसद बुढाथोकीसँग भेटघाटमा उठेका समस्या र सुझावलाई व्यवहारमा उतार्दै विकास निर्माण तथा नीतिगत पहलमार्फत सम्बोधन गर्न अपेक्षा गरेका छन्।