सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ निवासी ५१ वर्षीय एकनाथ भट्टराईको रूखबाट लडेर मृत्यु भएको छ।
आइतबार बिहान करिब ९ बजे बडहरको रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको दिउँसो २ बजे नेचा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि थप उपचार तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्ने प्रयास गरिए पनि समयमै उपलब्ध हुन नसकेको स्थानीयले बताएका छन्। हेलिकप्टर उपलब्ध हुन नसक्दा उद्धार तथा उपचार प्रक्रियामा ढिलाइ भएको उनीहरूको भनाइ छ।
घटनापछि दुर्गम पहाडी क्षेत्रमा आपत्कालीन उद्धार र स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा स्थानीयले समयमै उपचार पाउन कठिनाइ भोग्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यस घटनाले दुर्गम क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा र हवाई उद्धारको भरपर्दो व्यवस्था हुनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।