Loading

रुम्जाटारको सुन्तला खेती संकटमा, उजाडिँदै ऐतिहासिक बगैँचा

रुम्जाटारको सुन्तला खेती संकटमा, उजाडिँदै ऐतिहासिक बगैँचा

३० कात्तिक, ओखलढुङ्गा । कुनै समय रुम्जाटारको पहिचान बनेको सुन्तला खेती अहिले संकटमा परेको छ । लटरम्म सुन्तला फल्ने बगैँचा क्रमशः उजाडिँदै जान थालेपछि ओखलढुङ्गाको रुम्जाटारका किसान चिन्तित बनेका छन् । रोग, कीराको प्रकोप र उत्पादनमा आएको निरन्तर गिरावटका कारण यहाँको परम्परागत सुन्तला खेती नै लोप हुने जोखिम बढेको छ ।

केही वर्षअघिसम्म रुम्जाटारका समथर चौर र फाँटमा रहेका सुन्तलाका बोट दानाले झुकेका हुन्थे । राडीपाखीपछि रुम्जाटारलाई चिनाउने अर्को प्रमुख पहिचान सुन्तला खेती थियो । यहाँ उत्पादित सुन्तला स्थानीय बजारमा मात्र सीमित थिएन, घुम्न आउने पर्यटकले समेत कोसेलीका रूपमा लैजाने गर्थे ।

तर, अहिले त्यो पुरानो दृश्य दुर्लभ बन्दै गएको छ । ७९ वर्षीय स्थानीय जगत्बहादुर गुरुङ विगतमा रुम्जाटारका बगैँचामा लटरम्म फल्ने सुन्तलाको सम्झना गर्दै अहिले बगैँचा उजाडिँदै गएको देख्दा दुःखी हुनुहुन्छ ।

यस वर्ष पनि सुन्तला पाक्ने समय नजिकिँदै गर्दा अधिकांश बोटमा फल लागेको छैन । केही बोटमा लागेका दाना पनि कीराले नष्ट गर्ने, सानो आकारमै झर्ने र अपेक्षित रूपमा विकास नहुने समस्या देखिएको छ ।

स्थानीय किसान प्रेमकुमार गुरुङका अनुसार सुन्तलाका पात पहेँलिँदै झर्ने, बोट तथा हाँगा सुक्ने र फलमा कीरा लाग्ने समस्या बढ्दै गएको छ । अर्का किसान भगवती राजभण्डारी पनि यस वर्ष अधिकांश बोटमा फल नलागेको र थोरै फल लागेका बोटका दाना समेत कमजोर तथा कीराले प्रभावित भएको बताउनुहुन्छ ।

किसान देवीकुमारी राईका अनुसार पहिले एकपटक रोपेपछि वर्षौँसम्म उत्पादन दिने सुन्तलाका बोट अहिले नयाँ रोपेको केही वर्षमै मर्न थालेका छन् । नियमित पानी, मल र औषधीको प्रयोग गर्दा समेत बोट जोगाउन नसकिएको उहाँको गुनासो छ ।

सुन्तला खेतीबाट आम्दानी गर्ने आशा हराउँदै गएपछि किसान वैकल्पिक खेतीतर्फ लाग्न थालेका छन् । केहीले सुन्तलाका बगैँचा मासेर मेवा खेती सुरु गरेका छन् भने केही किसान परम्परागत कोदो र मकै खेतीमै फर्किएका छन् ।

स्थानीय युवा उद्धव गुरुङका अनुसार उत्पादन घट्दै गएपछि किसानले सुन्तलाका बोट काटेर हटाउन थालेका छन् । सुन्तला खेती मासिँदै जाँदा यसैमा निर्भर किसानको आम्दानीको स्रोतसमेत गुम्दै गएको स्थानीय हेमन्ता राई बताउनुहुन्छ ।

रुम्जाटारमा सुन्तला खेतीको समस्या समाधान गर्न विभिन्न क्षेत्रका कृषि प्राविधिकले अनुगमन गरे पनि रोग नियन्त्रण र उत्पादन पुनःस्थापनामा अपेक्षित सफलता मिल्न सकेको छैन । कृषि प्राविधिकका अनुसार पुराना बोटको उमेर बढ्दै जानु, नयाँ बिरुवाले पर्याप्त स्याहार तथा मलजल नपाउनु र रोगको प्रकोपले उत्पादनमा असर पारेको छ ।

तर, किसानका लागि प्रभावकारी रोग नियन्त्रण, प्राविधिक सहयोग, नयाँ बिरुवा रोपण तथा खेती पुनःस्थापनाका कार्यक्रम पर्याप्त रूपमा सञ्चालन हुन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ ।

रुम्जाटारको पहिचान र स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको सुन्तला खेती जोगाउन अब तत्काल प्रभावकारी पहल आवश्यक देखिएको छ । रोगको वैज्ञानिक पहिचान, नियमित प्राविधिक सेवा, रोगमुक्त बिरुवाको उपलब्धता र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्न सके मात्रै उजाडिँदै गएका बगैँचामा पुनः सुन्तला फलाउने सम्भावना जीवित रहन सक्छ ।

समयमै संरक्षण र पुनःस्थापनाको पहल हुन नसके कुनै समय रुम्जाटारको गौरव बनेको सुन्तला खेती भावी पुस्ताका लागि केवल पुरानो सम्झनामा सीमित हुने जोखिम छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *