रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा रहेको ऐतिहासिक ठोसे फलाम खानी पुनः सञ्चालन गर्ने विषयले फेरि चर्चा पाएको छ । प्रतिनिधिसभाको अर्थ समितिका सभापति तथा रामेछापका प्रतिनिधिसभा सदस्य डा. कृष्णहरि बुढाथोकीले बन्द अवस्थामा रहेको खानी पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आग्रह गरेका छन् ।
डा. बुढाथोकीले २०८३ कात्तिक २७ गते मन्त्रालयलाई सम्बोधन गर्दै पठाएको पत्रमा ठोसे फलाम खानीको वर्तमान अवस्था अध्ययन गरी पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक कार्ययोजना निर्माण गर्न आग्रह गरेका हुन् ।
पत्रमा उल्लेख भएअनुसार ठोसे फलाम खानी नेपालको ऐतिहासिक तथा पुरानो फलाम उत्खनन केन्द्रमध्ये एक हो । यहाँ विक्रम संवत् १९२२ देखि स्थानीय स्तरमा फलाम उत्खनन हुँदै आएको र राणाकालमा समेत फलाम प्रशोधन गरी कृषि औजार, घरेलु सामग्री तथा हतियार निर्माण हुने गरेको इतिहास छ ।
खानी पुनः सञ्चालन हुन सके स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै फलामको आयात प्रतिस्थापन र राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने पत्रमा उल्लेख गरिएको छ ।
प्राविधिक अध्ययनले देखाएको सम्भावना कति ?
ठोसे फलाम खानीको सम्भावना केवल ऐतिहासिक महत्वमा मात्र सीमित छैन । खानी तथा भूगर्भ विभागका प्राविधिक अध्ययनले समेत यस क्षेत्रमा फलामको खनिजीकरण रहेको देखाएका छन् ।
विभागको सन् २००६ को प्राविधिक प्रतिवेदनअनुसार ठोसे क्षेत्रमा करिब ४ किलोमिटर लम्बाइ र संयुक्त रूपमा १ देखि ३ मिटर मोटाइ भएको हेमाटाइट फलामको तह पहिचान गरिएको थियो । संकलित नमुनामा फलामको मात्रा २२.५ प्रतिशतदेखि ६६ प्रतिशतसम्म रहेको उल्लेख छ ।
विभागको प्रतिवेदनले ठोसे क्षेत्रमा विगतमा १८ वटा खानीबाट फलाम उत्खनन हुने गरेको र स्थानीयस्तरमा प्रशोधन गरी कृषि औजार, खुकुरी, हँसिया, बन्चरो तथा भाँडाकुँडा निर्माण गरिने गरेको ऐतिहासिक विवरणसमेत समेटेको छ ।
तर खनिजको उपस्थिति र नमुनामा देखिएको फलामको मात्रा मात्रले व्यावसायिक उत्पादन सम्भव हुने सुनिश्चित गर्दैन । त्यसका लागि विस्तृत भौगर्भिक सर्वेक्षण, आर्थिक सम्भाव्यता, पूर्वाधार, वातावरणीय प्रभाव र आधुनिक प्रशोधन प्रविधिको मूल्याङ्कन आवश्यक हुन्छ ।
पहिले पनि भएका थिए पुनः सञ्चालनका प्रयास
ठोसे फलाम खानी सञ्चालनको विषय यसअघि पनि पटक–पटक उठ्दै आएको छ । खानी तथा भूगर्भ विभागको अध्ययनपछि निजी क्षेत्रबाट समेत उत्खननको प्रयास भएको थियो ।
अनलाइनखबरले २०७९ मंसिरमा प्रकाशित गरेको खोजमूलक रिपोर्टअनुसार स्थानीय व्यवसायी वाङ्छु शेर्पाले २०६४ सालमा खोजतलास अनुमति लिएर २०६९ सालमा उत्खनन अनुमति प्राप्त गरेका थिए । तर निर्धारित अवधिमा उत्पादन सुरु हुन नसकेपछि विभागले अनुमति खारेज गरेको थियो ।
यसैबीच, खानी सञ्चालनका लागि आवश्यक सरकारी सहयोग, लगानी र नीतिगत स्पष्टता नहुँदा पुनः सञ्चालनको प्रयासले सार्थकता पाउन नसकेको विषय पनि सार्वजनिक हुँदै आएको छ ।
खानी सञ्चालनसँग जोडिएका ऐतिहासिक उपकरण तथा संरचनासमेत संरक्षण अभावमा जीर्ण बन्दै गएको विषयले यसको ऐतिहासिक सम्पदा संरक्षणको प्रश्नलाई पनि उत्तिकै महत्वपूर्ण बनाएको छ ।
अब सरकारको भूमिका के हुन्छ ?
डा. बुढाथोकीले मन्त्रालय, खानी विभाग, उद्योग विभागलगायत सम्बन्धित निकायबाट संयुक्त प्राविधिक टोली गठन गरी ठोसे फलाम खानीको वर्तमान अवस्था अध्ययन गर्न आग्रह गरेका छन् ।
उनले अध्ययनका आधारमा पूर्ण सञ्चालनका लागि आवश्यक कार्ययोजना तयार गरी तत्काल आवश्यक पहल गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
अब मन्त्रालयले संयुक्त प्राविधिक टोली गठन गर्छ कि गर्दैन, खानीको विस्तृत सम्भाव्यता अध्ययन कहिले हुन्छ र पुनः सञ्चालनका लागि आवश्यक बजेट तथा लगानीको स्रोत कसरी सुनिश्चित गरिन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।
करिब डेढ शताब्दीभन्दा लामो इतिहास बोकेको ठोसे फलाम खानीलाई पुनः सञ्चालन गर्ने विषय केवल एउटा खानी खोल्ने प्रयास मात्र होइन । यो रामेछापको ऐतिहासिक पहिचान संरक्षण, स्थानीय रोजगारी सिर्जना, स्वदेशी खनिज स्रोतको उपयोग र औद्योगिक आत्मनिर्भरतासँग जोडिएको सम्भावना पनि हो ।
तर यसपटक पनि अध्ययन र प्रतिबद्धतामै सीमित हुने हो वा ठोसेको फलामलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने ठोस कदम चालिने हो भन्ने प्रश्नको जवाफ भने सरकारको आगामी निर्णयले दिनेछ ।