काठमाडौं । सुनुवार सेवा समाजले मानबहादुर–विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषमार्फत सुनुवार समुदायका ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
मंगलबार काठमाडौंको कोटेश्वरस्थित समाजको कार्यालयमा आयोजित कार्यक्रममा जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई जनही १५ हजार रुपैयाँका दरले कुल ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति प्राप्त गर्नेमा मकवानपुरकी मुना सिकारी सुनुवार तथा ओखलढुंगा र रामेछापका प्रशान्त सुनुवार, सानु सुनुवार, गंगा सुनुवार, जमुना सुनुवार र सुप्रिया सुनुवार रहेका छन् ।
समाजका पूर्वअध्यक्ष मनप्रसाद सुनुवारका अनुसार कोषमार्फत सुनुवार समुदायका विद्यार्थीको शैक्षिक विकास र शैक्षिक स्तर उन्नतिमा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको हो ।
समाजका अध्यक्ष अमृत सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी, सल्लाहकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।