रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एम्बुलेन्स सेवालाई व्यवस्थित, प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३’ जारी गरेको छ।
गाउँपालिकाको स्थानीय राजपत्रमा २०८३ भदौ ५ गते प्रकाशित उक्त कार्यविधि सोही दिन बसेको गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत गरिएको हो। कार्यविधिले गर्भवती तथा सुत्केरी महिला, घाइते, विपद्मा परेका व्यक्ति, गम्भीर अवस्थाका बिरामी तथा अन्य बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ।
कार्यविधिअनुसार गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ। यसबाट मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ। अन्य बिरामीलाई पनि आवश्यकताअनुसार एम्बुलेन्स सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।
एम्बुलेन्स सेवा २४ सै घण्टा सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। गाउँपालिकाले आफैँ एम्बुलेन्स सञ्चालन गर्दा कम्तीमा एक जना चालकको व्यवस्था गर्नुपर्नेछ भने आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्न सक्नेछ।
त्यस्तै, एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै कोष स्थापना गरिनेछ। गाउँपालिकाले वार्षिक बजेटबाट रकम विनियोजन गर्नुका साथै एम्बुलेन्स सेवा शुल्क, अनुदान तथा आर्थिक सहयोगबाट प्राप्त रकमसमेत उक्त कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ। कोषको रकम एम्बुलेन्स सञ्चालन, व्यवस्थापन, मर्मतसम्भार तथा आवश्यक जनशक्ति व्यवस्थापनमा खर्च गर्न सकिनेछ।
कार्यविधिले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा पालिकास्तरीय एम्बुलेन्स व्यवस्थापन निर्देशक समिति गठन गर्ने व्यवस्था गरेको छ। समितिमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, आर्थिक प्रशासन शाखा तथा स्वास्थ्य शाखा प्रमुख सदस्य रहनेछन् भने गाउँपालिका अध्यक्ष संरक्षक रहने व्यवस्था छ।
समितिले एम्बुलेन्सको नियमित सञ्चालन, अनुगमन, सुपरीवेक्षण, आर्थिक पारदर्शिता तथा सेवा प्रवाहको प्रभावकारिता सुनिश्चित गर्नेछ। साथै, एम्बुलेन्स सेवा पुग्न नसक्ने स्थानका बिरामीका लागि वैकल्पिक यातायातको व्यवस्था गर्नुपर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ।
गाउँपालिकाले गैरनाफामूलक संस्था तथा इच्छुक निजी क्षेत्रसँग सम्झौता गरेर पनि एम्बुलेन्स सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ। त्यसका लागि कम्तीमा सात दिनको सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गर्नुपर्नेछ। छनोट भएका संस्थाले गाउँपालिकासँग सम्झौता गरी सेवा सञ्चालन गर्नुपर्नेछ।
एम्बुलेन्स भाडादर गाउँ कार्यपालिकाले तोकेबमोजिम हुने र जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति रामेछापले निर्धारण गरेको दररेटलाई आधार मानी भौगोलिक अवस्थाअनुसार पालिकास्तरीय समितिले छुट्टै दर निर्धारण गर्न सक्ने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ।
एम्बुलेन्स चालकले सवारीको नियमित सरसफाइ, मर्मतसम्भार, इन्धन खपत तथा यात्राको अभिलेख राख्नुपर्नेछ। प्रत्येक सात दिनमा संकलित रकम एम्बुलेन्स सञ्चालन कोषको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। चालकले एम्बुलेन्सको दुरुपयोग गर्न नपाउने र तोकिएको क्षेत्रभन्दा बाहिर सञ्चालन गर्नुपरे समितिको पूर्वस्वीकृति लिनुपर्नेछ।
कार्यविधिले एम्बुलेन्सको दैनिक यात्रा विवरण, बिरामीको विवरण, यात्रा दूरी, इन्धन खर्च, सेवा शुल्क, अक्सिजन तथा प्राथमिक उपचार सामग्रीको अवस्थासमेत अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ। सेवा शुल्क संकलन गर्दा तोकिएको रसिद प्रयोग गरी आर्थिक कारोबार व्यवस्थित गर्नुपर्नेछ।
गाउँपालिकाले नयाँ कार्यविधिमार्फत एम्बुलेन्स सेवालाई नियमित, पारदर्शी र उत्तरदायी बनाउँदै विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने लक्ष्य लिएको छ।