काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएकी छन् । उनको मर्यादाक्रम चार स्थानले सुधार भएको हो ।
गौतम तेस्रो स्थानमा पुगेपछि यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा झरेका छन् ।
अर्थमन्त्री वाग्ले दोस्रो स्थानमै यथावत्
नयाँ मर्यादाक्रमअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन् । यस्तै, महावीर पुन आठौँ, सीता वादी नवौँ, प्रतिभा रावल दसौँ, निशा मेहता ११औँ, सस्मित पोखरेल १२औँ, खडक राज पौडेल १३औँ, डा. विक्रम तिमिल्सिना १४औँ र गीता चौधरी १५औँ स्थानमा कायम छन् ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह १६औँ तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औँ स्थानमा रहेका छन् ।
मन्त्रिपरिषद्को मर्यादाक्रममा भएको यो फेरबदल प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको हो ।