Loading

यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

नेकपा एमालेले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार टुंगो लगाउन थालेको छ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालसँगको छलफलपछि एमालेले सात सिट पाउने टुंगो लागेको छ। त्यसपछि एमालेले नाममा छलफल चलाउन थालेको हो। यद्यपि नामको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिएका छन्।

कोशी प्रदेशमा एमालेले महिला लिने प्रारम्भिक सहमति भएको छ। एमालेले महिला क्लस्टर लिए त्यहाँबाट रोशनी मेचे वा केन्द्रीय सदस्य मेनुका काफ्लेमध्ये एक जना उम्मेदवार बन्ने टुंगो लागेको छ। मेचे ओली प्रधानमन्त्री हुँदा सचिवालयमा थिइन्। उनी झापाको लोपोन्मुख समुदायकी हुन्। काफ्लेको नाम प्रतिनिधि सभाको समानुपातिकको सूचीमा पनि छ।

मधेस प्रदेशमा पनि एमालेले महिला लिने सहमति भएको छ। नाममा छलफल भइरहेको प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले बताए।

बागमतीमा पुरूष पाउनेबारे एमालेले छलफल अगाडि बढाएको छ। त्यहाँ कांग्रेसले पनि दाबी गरेको छ।

एमालेले पुरूष पाए प्रेम दंगाल उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। महिला पाए नाममा थप छलफल हुनेछ।

गण्डकीमा पनि पुरूष नै लिने सहमति भएको एक पदाधिकारीले बताए। पुरूष पाउँदा दुई जनाको नाम चर्चामा थियो। त्यहाँ दीपक पौडेल र स्याङ्जाका चक्रबहादुर पराजुलीको नाम चर्चामा रहेको थियो। त्यसमध्ये पराजुलीकै सम्भावना प्रबल रहेको ती नेताले बताए।

लुम्बिनीमा महिला पाउने सहमति भएको छ। त्यहाँ पनि नाम टुंगो लाग्न बाँकी छ। यद्यपि त्यहाँ नेता रामकुमारी झाक्रीको नाम पनि चर्चामा रहेको एक नेताले जानकारी दिए।

कर्णाली प्रदेशमा पनि ऋषि शर्मा र बलबहादुर महतको नाममा छलफल भइरहेको एक नेताले बताए। त्यसमध्ये शर्माकै सम्भावना बलियो रहेको एक नेताको दाबी छ।

सुदूरपश्चिममा एमालेले महिला पाउने भएको छ। एमालेले महिला पाए लीला भण्डारी उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको एक नेताले बताए। ती नेताका अनुसार उनी पूर्वमाओवादीबाट एमालेमा रहेकी हुन्।

राष्ट्रिय सभाको रिक्त १९ स्थानमध्ये १८ सिटका लागि बुधबार मनोनयन दर्ता हुँदै छ।

प्रदेश–प्रदेशमा हुने निर्वाचनमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपाल तालमेलको तयारीमा छन्।

कांग्रेसले ७, एमालेले ७, नेपाली कम्युनिस्ट पार्टीले ३ र जनता समाजवादी पार्टी नेपालले १ सिट पाउने गरी समझदारी भइरहेको एमालेका नेताहरूले बताएका छन्।

कांग्रेसले ८ सिट दाबी गरिरहेको छ भने क्लस्टर नटुंगिएको उसले बताएको छ। जसपा नेपालले पनि एक सिटमा चित्त बुझाएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *