Loading

उमाकुण्डमा एथलेटिक्स आधारभूत तालिम सम्पन्न

उमाकुण्डमा एथलेटिक्स आधारभूत तालिम सम्पन्न

रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा माध्यमिक तहका खेलकुद शिक्षक तथा वडा खेलकुद विकास समितिका पदाधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरिएको सात दिने एथलेटिक्स विधाका आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार रहनुभएको थियो भने अतिथिका रूपमा वडा नं. ४ का वडा अध्यक्ष मान बहादुर सुनुवारको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष सुनुवारले खेलकुदलाई केवल मनोरञ्जनको माध्यममा सीमित नराखी व्यवसायिकता, अनुशासन र स्थानीय पहिचानसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र आत्मनिर्भर बनाउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले गाउँपालिकामा खेलकुदको दिगो विकासका लागि दक्ष प्रशिक्षक तथा निर्णायक उत्पादन अपरिहार्य रहेको बताउनुभयो। यस्ता तालिमले विद्यालय र समुदायस्तरमा खेलकुदको गुणस्तर अभिवृद्धि गर्ने र तालिम प्राप्त कोच तथा रेफ्रीहरूले खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा अन्य खेल विधामा समेत क्षमता अभिवृद्धि र एडभान्स तालिम कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी वडा नं. ४ का अध्यक्ष मान बहादुर सुनुवारले खेलकुदले अनुशासन, नेतृत्व विकास र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो। विद्यालयस्तरबाटै एथलेटिक्स जस्ता आधारभूत खेलकुद विधालाई सुदृढ बनाउन सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने र अब गाउँपालिकामा हुने खेलकुद कार्यक्रम गाउँपालिकामै उत्पादित प्रशिक्षकलाई प्रयाेग गरि संचालन गर्नुपर्ने उहाँको भनाइ थियो।

गत पुस १६ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको उक्त तालिममा एथलेटिक्सका आधारभूत नियम, प्रशिक्षण विधि, खेल सञ्चालन प्रक्रिया तथा रेफ्रीसम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। दैनिक कार्यतालिका अनुसार १० बजेदेखि १ बजेसम्म सैद्धान्तिक ज्ञान र दिउँसो २ बजेदेखि ४ बजेसम्म व्यवहारिक तथा प्रयाेगात्मक ज्ञान प्रदान गरिएको थियाे । तालिम समापनका दिन सहभागी प्रशिक्षार्थीहरूको मूल्याङ्कनका लागि ५० अंकको लिखित परीक्षा सञ्चालन गरि पृष्ठपाेषण समेत प्रदान गरिएको थियो।

तालिमका प्रशिक्षक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का धनिराम चौधरी रहनुभएको थियो। उहाँले सहभागीहरूलाई आधुनिक प्रशिक्षण प्रविधि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार एथलेटिक्स खेल सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

उक्त तालिमबाट गाउँपालिकामा १४ जना एथलेटिक्स कोच तथा रेफ्री उत्पादन भएका छन्। सहभागीहरूले तालिम प्रभावकारी र व्यवहारिक रहेको प्रतिक्रिया दिँदै प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा वडास्तरका खेलकुद गतिविधिमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका शिक्षा अधिकृत ङावा शेर्पाले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *