Loading

च्छो रोल्पा हिमतालको जोखिम न्यूनीकरण गर्न रामेछापमा पूर्वसूचना प्रणाली जडानको पहल

च्छो रोल्पा हिमतालको जोखिम न्यूनीकरण गर्न रामेछापमा पूर्वसूचना प्रणाली जडानको पहल

रामेछाप । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित च्छो रोल्पा हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न रामेछापका तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडान गर्ने पहल थालिएको छ ।

हिमताल विस्फोटबाट बाढी आएमा नदी तटीय क्षेत्रका बासिन्दालाई समयमै सचेत गराउने उद्देश्यले साइरनसहितको स्वचालित सूचना प्रणाली जडान गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले जानकारी दिए ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयअनुसार अघि बढाइएको यस पहलसँगै सम्भावित बाढीको जोखिम अध्ययन गर्न जिल्ला सुरक्षा समितिको निर्णयबाट गठित उपसमितिले पनि काम गरिरहेको छ । उपसमितिले जोखिमयुक्त क्षेत्र, प्रभावित हुन सक्ने बस्ती तथा सम्भावित क्षतिको विवरण संकलन गरिरहेको छ ।

यसका लागि मन्थली र रामेछाप नगरपालिका तथा खाँडादेवी र लिखु तामाकोशी गाउँपालिकासँग नदी तटीय क्षेत्रका जोखिमयुक्त बस्तीको विवरण माग गरिएको छ । मिल्ती खोलादेखि कोलन्जोरघाटसम्मका क्षेत्र तथा लिखु नदी आसपास बाढीबाट प्रभावित हुन सक्ने घरधुरी र जनसङ्ख्याको विवरण संकलन गर्न स्थानीय तहलाई आग्रह गरिएको केसीले बताए ।

त्यस्तै, जोखिम क्षेत्रमा रहेका विद्यालय, स्वास्थ्य संस्था, बजार, धार्मिक स्थल तथा अन्य सार्वजनिक संरचनाको विवरणसमेत माग गरिएको छ । सम्भावित बाढीका बेला नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक उच्च भूभाग, खुला क्षेत्र, सामुदायिक भवन तथा आश्रयस्थलको पहिचान र तिनको क्षमता विवरण संकलन गर्न पनि स्थानीय तहलाई भनिएको छ ।

प्रशासनका अनुसार जोखिमको पूर्वपहिचान, समयमै सूचना प्रवाह र सुरक्षित स्थानान्तरणको व्यवस्था मिलाउँदै सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जिल्लामा पूर्वतयारीका काम अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *