काठमाडौं, ३ मंसिर । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको तयारीलाई अघि बढाउँदै राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।
आयोगले शुक्रबार बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको हो। आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार छलफलमा प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छ राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुने भएकाले आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो। निर्वाचनको मिति घोषणा, निर्वाचन व्यवस्थापन तथा आवश्यक पूर्वतयारीका विषयमा दलहरूलाई जानकारी गराउनुका साथै उनीहरूबाट सुझाव लिन छलफल आयोजना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि क्रमशः परामर्श गर्ने जनाएको छ।
निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक तयारीका विषयमा राजनीतिक दलहरूको सुझाव लिएर सरकारसँग थप समन्वय गर्ने आयोगको तयारी छ। निर्वाचनको अन्तिम मिति भने नेपाल सरकारले आयोगसँगको परामर्शमा निर्धारण गर्नेछ।