रामेछाप । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्ने राष्ट्रिय युवा परिषद्ले देश भित्रका युवाहरूको प्रतिभाहरूको खोजी गरी उनीहरूका कार्यलाई प्रोत्साहन गर्ने उद्धेश्य लिएर युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ ।
उक्त कार्यक्रमबाट जिल्ला स्तरमा कार्यक्रम सञ्चालन गरी प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित कार्यविधिमा उल्लेख भए बमोजिमको प्रमाणपत्र प्रदान गरिने छ । साथै जिल्ला स्तरमा प्रथम हुने प्रतियोगीलाई सिफारिस, लेख विचार सहित प्रदेश स्तरमा हुने कार्यक्रममा सहभागी हुन पठाउने व्यवस्था गरिनेछ र दस जनालाई राष्ट्र युवा परिषदमा सिफारिस गरिनेछ ।
जिल्ला स्तरको कार्यक्रम सञ्चालन गर्न प्रत्येक बर्ष फरकफरक पालिकामा युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन शिर्षकमा सशर्त अनुदान विनियोजन गरिने व्यवस्थापन रहेको छ भने उक्त रकमबाट आफ्नो जिल्ला भित्रका सबै स्थानीय तहहरूबाट प्रतियोगीहरू कार्यक्रममा सहभागिता गराइनेछ ।
यस बर्ष परिषद्ले समृद्ध नेपाल निर्माणको लागि स्वास्थ, कर्मठ र उद्यमी युवा भन्ने नारा सहित युवा नवप्रर्वतनात्मक विचार प्रतियोगिता सञ्चालन गर्ने भएको छ । युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यप्रक्रिया २०७८ अनुसार सञ्चालन हुने उक्त कार्यक्रम सञ्चालन गर्नका लागि परिषद्ले सबै जिल्लाका स्थानीय तहहरूलाई पत्र पठाइसकेको छ ।
१६ बर्षदेखि ४० बर्षसम्मका युवाहरूले भाग लिन पाउने यस कार्यक्रममा सहभागी हुन प्रतियोगी स्वयंमले तयार गरिएको प्रस्तावित परियोजना प्रस्तावको साथमा उमेर र ठेगाना खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । अन्य स्थानीय तहहरूमा सञ्चालन गरिएको गतबर्षको कार्यक्रममा खासै युवाहरूको सहभागी नभए पनि यस बर्ष उक्त कार्यक्रममा रामेछाप जिल्ला भित्रका ग्रामीण क्षेत्रका धेरै भन्दा धेरै युवाहरूको सहभागिता गराउने उद्धेश्य लिएर उमाकुण्ड गाउँपालिकाले सूचना प्रकाशित गरिएको छ ।
प्रतियोगीहरूले कार्यक्रममा सहभागिता हुन उमाकुण्ड गाउँपलिकाको वेभसाइट वा राष्ट्रिय युवा परिषदको वेभसाइटबाट फाराम डाउनलोड गर्न सकिने वा उमाकुण्ड शिक्षा युवा तथा खेलकुद शाखाबाट पनि फाराम लिन सकिने व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।