रुकुमपश्चिम, १८ कात्तिक । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी आज रुकुमपश्चिम आउँदै छिन् । सामाजिक सुरक्षा तथा बाल संरक्षण कार्यक्रमको अनुगमन र विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग अन्तरक्रिया गर्ने उद्देश्यले उनी जिल्ला आउन लागेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता पुस्तक चन्दका अनुसार मन्त्री बादीसहित सचिवालयको टोली आज बेलुका रुकुमपश्चिम पुग्ने कार्यक्रम रहेको छ । सल्यान हुँदै जिल्ला आउने मन्त्री बादीले त्रिवेणी गाउँपालिकाको सिम्रुतु, सानीभेरी गाउँपालिकाको सिम्ली र चौरजहारी नगरपालिकामा विभिन्न कार्यक्रम तथा भेटघाट गर्नेछिन् ।
मन्त्री बादीले आजै बेलुका त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी बिहीबार बिहान सानीभेरी गाउँपालिकामा सञ्चालन भइरहेको सामाजिक सुरक्षा तथा बाल संरक्षण कार्यक्रमको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
बिहीबार नै चौरजहारी नगरपालिकामा आमा समूह, विपद् प्रभावित महिला, बालबालिका, दलित समुदाय तथा बौद्धिक व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत निर्धारण गरिएको नेता चन्दले जानकारी दिएका छन् ।
यस क्रममा जिल्लाका स्थानीय समस्या, गुनासा तथा सुझाव मन्त्रीसमक्ष राख्न सकिने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी रुकुमपश्चिमले सम्बन्धित समुदाय तथा सरोकारवालालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
मन्त्रीको भ्रमणबाट जिल्लाका महिला, बालबालिका, विपद् प्रभावित तथा दलित समुदायका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।