सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले पर्यटन प्रवर्द्धन, युवा एकता र खेलकुद विकासलाई लक्षित गर्दै मङ्सिर १८ गतेदेखि ‘साङ्गीतिक साँझ–२०८३’ तथा जिल्लाव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
कोर्कु रङ्गशालामा सञ्चालन हुने कार्यक्रममा कर्मा ब्यान्डका मुख्य गायक सुरेन्द्रमान सिंह, लोकदोहोरी गायक बद्री पंगेनी तथा ‘द भ्वाइस अफ नेपाल सिजन–५’ का सेकेन्ड रनरअप कुमार प्रयास राईलगायत कलाकारको प्रस्तुति रहनेछ।
कार्यक्रमसँगै खुला महिला तथा पुरुष टेबलटेनिस र चेस प्रतियोगितासमेत सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ।
‘गन्तव्य : माप्य दुधकोशी–प्रकृति, पर्यटन, खेलकुद र युवा एकता’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षणसँगै माप्य दुधकोशीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।