कार्तिक १८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३, चौलाखर्क काफ्लेचौरमा चौथो अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता तथा दोस्रो कृषि प्रदर्शनी मेलाको उद्घाटन सम्पन्न भएको छ।
लिखुपिके गाउँपालिकाको आयोजनामा सञ्चालन हुने भलिबल प्रतियोगिता कात्तिक १८ गतेदेखि २१ गतेसम्म चल्नेछ। प्रतियोगितामा विभिन्न वडाका १४ टिम खेलाडी टोलीबीच प्रतिस्पर्धा हुनेछ।
“पर्यटन, कृषि र खेलकुद लिखुपिकेको समृद्धिका प्रमुख आधार हुन्। यहाँका सम्भावनालाई सही ढंगले उपयोग गर्न सके पालिकाको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्नेछ।”
— रिना उप्रेती केसी, प्रतिनिधिसभा सदस्य
रिना उप्रेती केसी, प्रतिनिधिसभा सदस्य
कार्यक्रमको उद्घाटन माननीय सांसद रीना उप्रेती केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सांसद रीना उप्रेती केसीले आफूलाई मतदान गरी निर्वाचित गराउन सहयोग गर्ने मतदाताप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।
उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, अन्य जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
खेलकुदको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता र कृषि प्रदर्शनी मेलाले स्थानीयस्तरमा खेलकुद तथा कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दोस्रो कृषि प्रदर्शनी मेलामार्फत स्थानीय कृषकका उत्पादनको प्रदर्शन तथा कृषि क्षेत्रको सम्भावना उजागर गरिनेछ।