रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजिस्थित टी.ओ.जी. चर्चमा रामेछाप र दोलखाका इसाई युवाहरूको सहभागितामा २८औँ क्रिष्टियन राजदूत शिविर सम्पन्न भएको छ ।
एसेम्ब्लिज अफ गडअन्तर्गत रामेछाप–दोलखा क्षेत्र नं. ‘क’ जवान समितिको आयोजनामा कार्तिक २२ देखि २५ गतेसम्म सञ्चालित चारदिने शिविरमा दुई जिल्लाका १५ वटा मण्डलीबाट १६० भन्दा बढी युवाहरू सहभागी भएका थिए ।
‘ख्रिस्टमा हाम्रो पहिचान र उद्देश्य’ (१ पत्रुस २ः९) भन्ने मूल नाराका साथ आयोजित शिविरमा युवाहरूको आत्मिक जीवन, ख्रिस्टमा उनीहरूको पहिचान, विश्वास र सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो ।
शिविरमा पास्टर भबिन्द्र राना मगरको प्रमुख आतिथ्यता तथा पास्टर राजु श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न मण्डलीका पास्टर, अगुवा तथा युवाहरूको उपस्थिति थियो ।
युवाहरूबीच आपसी एकता, सम्बन्ध विस्तार र प्रतिभा प्रस्फुटनलाई प्रोत्साहन गर्ने उद्देश्यले शिविरका क्रममा हाजिरीजवाफ, नृत्य तथा फुटसल प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
चार दिनसम्म चलेको शिविरले रामेछाप र दोलखाका विभिन्न मण्डलीमा आबद्ध युवाहरूलाई एकै ठाउँमा भेला गराउँदै आपसी अनुभव आदानप्रदान, सम्बन्ध विस्तार र आत्मिक विकासको अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।