सोलुखुम्बु, कात्तिक २८ । तिहारमा दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता र पारिवारिक भेटघाटलाई सहज बनाउने उद्देश्यले खोटाङमा सञ्चालन गरिएको ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानबाट ३०७ जना महिला लाभान्वित भएका छन् ।
आर्थिक अभाव तथा यातायातको असहजताका कारण तिहारमा माइती पुग्न कठिनाइ भोगिरहेका महिलालाई लक्षित गरी सञ्चालन गरिएको अभियानअन्तर्गत तीन दिनसम्म निःशुल्क मोटरसाइकल सेवा उपलब्ध गराइएको थियो ।
कात्तिक २४ देखि २६ गतेसम्म सञ्चालन भएको अभियानमा चेलीहरूलाई घरबाट माइतीसम्म पुर्याउने र भेटघाटपछि पुनः घरसम्म फर्काउने व्यवस्था मिलाइएको थियो ।
अभियानको सचिवालयकी अञ्जना आचार्यका अनुसार पहिलो दिन कात्तिक २४ गते १३८ जनाले सेवा लिएका थिए । दोस्रो दिन १०१ जना र अन्तिम दिन ७० जनाले सेवा लिएसँगै तीन दिनमा लाभान्वित हुनेको संख्या ३०७ पुगेको हो ।
अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा यातायातको सहज पहुँच नभएका महिलालाई लक्षित गरेर अभियान सञ्चालन गरिएको हो ।
तिहारमा माइती र चेलीबीचको सम्बन्धलाई थप आत्मीय बनाउने तथा आर्थिक र भौगोलिक कठिनाइका कारण पारिवारिक भेटघाटबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।