कञ्चनपुर, कात्तिक २८ । भारततर्फ जाँदै गरेका दुई युवतीलाई कञ्चनपुरको गड्डाचौकी सीमा नाकाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेमा बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलका १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनार रहेका छन् ।
शुक्रबार सीमा नाकामा चेकजाँचका क्रममा उनीहरूलाई सम्भावित मानव बेचबिखन तथा असुरक्षित सीमा यात्राको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा जाँचका लागि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले दुवै युवतीलाई आवश्यक जाँचबुझका लागि आफन्त नेपालकी कार्यालय संयोजक सुनिता सिनाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक विश्वास खत्रीको जिम्मा लगाएको छ ।
उनीहरू भारत जानुको वास्तविक कारण र मानव बेचबिखनको जोखिम भए–नभएको विषयमा थप अनुसन्धान भइरहेको छ ।