लिस्बन । आकर्षक रोजगारी, उच्च तलब र सहजै आवासीय अनुमति (रेसिडेन्स कार्ड) दिलाउने प्रलोभन देखाएर नेपाली नागरिकलाई पोर्चुगल पठाउने नाममा ठगी तथा शोषण भइरहेको भन्दै नेपाली राजदूतावास लिस्बनले सचेत गराएको छ ।
दूतावासले सार्वजनिक सूचना जारी गर्दै अस्थायी आवासीय अनुमति (टीआरपी) लगायतका सुविधा दिलाउने आश्वासनमा ठूलो रकम लिएर डी–१ भिसामा पोर्चुगल ल्याइएका केही नेपालीलाई सम्झौताअनुसारको काम, तलब र सुविधा नदिई अलपत्र पारिएको जनाएको छ ।
यससम्बन्धी व्यक्ति तथा कम्पनीविरुद्ध उजुरी प्राप्त भएको र आवश्यक छानबिन तथा कारबाहीका लागि नेपाल र पोर्चुगलका सम्बन्धित निकायमा पठाइसकिएको दूतावासले स्पष्ट पारेको छ ।
दूतावासका अनुसार पोर्चुगलमै रोजगारी खोजिदिने भन्दै नेपालीबाट रकम असुल्ने, रकम हिनामिना गर्ने र त्यसपछि सम्पर्कविहीन हुने घटनासमेत देखिएका छन् । यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध प्रमाणसहित उजुरी प्राप्त भए निगरानी सूचीमा राखेर कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने सूचनामा उल्लेख छ ।
पछिल्लो समय राम्रो तलब, आकर्षक रोजगारी र भविष्यमा परिवारसमेत पोर्चुगल ल्याउन सकिने आश्वासनमा ठूलो रकम खर्च गरेर डी–१ भिसामा पोर्चुगल पुग्ने नेपालीको संख्या बढिरहेको छ । तर, त्यहाँ पुगेपछि कतिपयले सम्झौताअनुसार काम नपाउने, रोजगारदाता सम्पर्कमा नआउने, विमानस्थलमा लिन कोही नपुग्ने तथा बसोबास र रोजगारीको समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।
रोजगारी पाएकामध्ये पनि कतिपयले सम्झौताअनुसारको तलब तथा सुविधा नपाएको र आवासीय अनुमतिका लागि बायोमेट्रिक तथा रेसिडेन्स कार्डको प्रतीक्षामा आर्थिक तथा अन्य समस्या झेल्नुपरेको बताउने गरेका छन् ।
दूतावासले डी–१ भिसा प्राप्त हुँदैमा रोजगारीको ग्यारेन्टी हुने वा तत्काल आवासीय कार्ड पाइने सुनिश्चितता नहुने स्पष्ट पारेको छ । त्यसैले पोर्चुगल जानुअघि रोजगारदाता कम्पनी, रोजगार सम्झौता, तलब, कामको प्रकृति र आवासीय अनुमति प्रक्रियाबारे यथार्थ जानकारी लिन आग्रह गरेको छ ।
त्यस्तै, आकर्षक आश्वासनकै भरमा विश्वास नगर्न, व्यक्ति तथा कम्पनीको विश्वसनीयता जाँच गर्न र आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउन दूतावासले नेपाली नागरिकलाई अनुरोध गरेको छ ।
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष सुजन मोक्तानले नेपाली नागरिकलाई ठगी तथा शोषणबाट जोगाउन दूतावासले जारी गरेको सूचना महत्वपूर्ण रहेको बताउनुभएको छ ।