Loading

ट्रम्पलाई स्वागत गर्न विमानस्थलमै पुगे सी जिनपिङ, पुटिनलाई भने काई छीले गरे स्वागत

ट्रम्पलाई स्वागत गर्न विमानस्थलमै पुगे सी जिनपिङ, पुटिनलाई भने काई छीले गरे स्वागत

सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीनको दक्षिणी सहर सेन्जेन पुगेका छन्। उनलाई स्वागत गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैँ विमानस्थल पुगेपछि अमेरिका–चीन सम्बन्धमा यस घटनालाई विशेष कूटनीतिक महत्त्वका साथ हेरिएको छ।

चीनमा विदेशी राष्ट्रप्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गर्ने अभ्यास विरलै हुने भएकाले राष्ट्रपति सी आफैँ ट्रम्पको स्वागतका लागि पुग्नुलाई दुई देशबीचको सम्बन्धलाई चीनले दिएको प्राथमिकताका रूपमा विश्लेषण गरिएको छ।

यसअघि यसै वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सी जिनपिङ अमेरिका पुग्दा विमानस्थलमै पुगेर व्यक्तिगत रूपमा स्वागत गरेका थिए। सीले यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। त्यतिबेला उनी चीनका उपराष्ट्रपति थिए।

अमेरिका र चीनबीच प्रविधि, व्यापार तथा आर्थिक प्रतिस्पर्धाका विषयमा लामो समयदेखि तनाव रहँदै आएको छ। यस्तो अवस्थामा दुई राष्ट्रपतिबीचको उच्चस्तरीय भेटघाटलाई द्विपक्षीय सम्बन्ध सुधार तथा आपसी सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

पुटिनलाई काई छीले गरे स्वागत

यसैबीच, बुधबार नै सेन्जेन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य काई छीले स्वागत गरेका थिए।

राष्ट्रपति सी आफैँ विमानस्थल पुगेर ट्रम्पको स्वागत गर्नु तर पुटिनको स्वागतका लागि काई छीलाई पठाउनुलाई चीनले दुवै मुलुकसँगको कूटनीतिक सम्बन्धमा अपनाएको फरक शिष्टाचारका रूपमा हेरिएको छ।

ट्रम्प आउनुअघि सी र पुटिनबीच भेटवार्ता

ट्रम्प चीन पुग्नुअघि राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच बुधबार भेटवार्ता भएको थियो। भेटका क्रममा सीले व्यापार संरक्षणवादको विरोध गर्दै खुला व्यापारको पक्षमा चीनको प्रतिबद्धता व्यक्त गरेका थिए। पुटिनले भने पश्चिमा मुलुकहरूले लगाएका प्रतिबन्धको आलोचना गरेका थिए।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि सेन्जेनमा भेला भएका दुवै नेताले ट्रम्पको आगमनअघि सम्मेलनलाई सम्बोधनसमेत गरेका थिए।

तीनै नेताबीच बिहीबार सम्मेलनको साइडलाइनमा त्रिपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको विवरणमा उल्लेख छ। प्रस्तावित भेटवार्तामा युक्रेन युद्ध, इरानमाथि अमेरिकी सैन्य कारबाही, अन्तर्राष्ट्रिय व्यापार, कृत्रिम बुद्धिमत्ता (एआई) तथा आणविक हतियारलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

विश्वका प्रमुख शक्तिराष्ट्रका शीर्ष नेताहरू एउटै सम्मेलनमा सहभागी भइरहेका बेला उनीहरूबीच हुने भेटवार्ता र त्यसबाट निस्कने निष्कर्षलाई अन्तर्राष्ट्रिय राजनीतिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

एजेन्सीको सहयोगमा।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *