Loading

नुम्बुर खबरको लागि सत्य तथ्य र निष्पक्ष समाचार तयार बनाउनुहोस् ।

नुम्बुर खबरको लागि सत्य तथ्य र निष्पक्ष समाचार तयार बनाउनुहोस् ।

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार कार्कीको मागबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न तथा नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए।

अदालतले प्रहरी संगठनको नेतृत्व, नियन्त्रण प्रणाली तथा चेन अफ कमान्डसँग जोडिएको विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै मुद्दाको शीघ्र सुनुवाइ गर्नुपर्ने आदेश दिएको छ।

सर्वोच्चले विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि वा त्यसका लागि तोकिएको अवधि समाप्त भएपछि सात दिनभित्र मुद्दालाई पेसीमा चढाउनसमेत आदेश दिएको छ। साथै, तोकिएको पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिन निर्देशन दिएको छ।

यसअघि मंसिर ८ गतेका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। तत्कालीन सुनुवाइका क्रममा प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई अदालतको म्याद तामेल नभएको विषय उठेपछि नेपाल प्रहरीका तर्फबाट उपस्थित कानुन व्यवसायीले नयाँ म्याद जारी गर्न माग गरेका थिए।

त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन र अर्को सुनुवाइमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न आदेश दिएको थियो। अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भई सरकारको धारणा स्पष्ट पार्न भनेको थियो।

अन्तरिम आदेश जारी नभए पनि सर्वोच्चले मुद्दालाई प्राथमिकताका साथ शीघ्र सुनुवाइ गर्न निर्देशन दिएको छ। अब मुद्दाको अन्तिम फैसला लिखित जवाफ र दुवै पक्षको बहसपछि हुने कानुनी प्रक्रियाबाट टुंगिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *