सारांश
प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले दियोपोस्ट अनलाइनमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै उनले बिचौलियासँगको सम्बन्ध र आर्थिक लेनदेनसम्बन्धी आरोपहरू निराधार तथा भ्रामक रहेको दाबी गरेका छन्।
ओखलढुंगा । प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले दियोपोस्ट अनलाइनमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त समाचारमा उल्लेखित आरोपहरू निराधार, भ्रामक र कपोलकल्पित रहेको दाबी गरेका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पोखरेलले बिचौलियासँगको सम्बन्ध, आर्थिक लेनदेन तथा अन्य विषयमा आफ्नो नाम जोडेर प्रकाशित समाचारले व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र सार्वजनिक जीवनमा गम्भीर आघात पुर्याउने प्रयास गरेको बताएका हुन्।
विज्ञप्तिमा उनले समाचारमा उल्लेख गरिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। कुनै पनि दलाल वा बिचौलियासँग आफ्नो चिनजान, सम्पर्क वा संलग्नता नरहेको दाबी गर्दै उनले कथित आर्थिक लेनदेनसम्बन्धी आरोपहरू पूर्णतः भ्रामक रहेको उल्लेख गरेका छन्।
पोखरेलले प्रमाणित तथ्य र आधिकारिक आधारबिना आपत्तिजनक आरोपसँग आफ्नो नाम जोडेर समाचार प्रकाशित गर्नु जिम्मेवार पत्रकारिताको मर्मविपरीत भएको बताएका छन्। सम्बन्धित पक्षले प्रत्यक्ष सम्पर्क गरी तथ्य बुझ्न सक्ने अवस्था हुँदाहुँदै एकपक्षीय र अप्रमाणित सामग्रीका आधारमा समाचार सम्प्रेषण गरिएको उनको भनाइ छ।
उनले आफ्नो नाम जोडेर प्रकाशित समाचारको गल्ती सच्याउन र आफ्नो आधिकारिक धारणा समेट्न सम्बन्धित अनलाइनलाई आग्रह गरेका छन्। साथै, आफ्नो प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले झुटा तथा भ्रामक सामग्री प्रचारप्रसार गर्ने कार्यविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्ने अधिकार सुरक्षित रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
पोखरेलले आफू ३५ वर्षदेखि देश र नागरिकको सेवामा समर्पित रहेको उल्लेख गर्दै आफ्नो व्यावसायिक निष्ठा र इमानदारीमा कुनै दाग नलागेको दाबी गरेका छन्। आगामी दिनमा पनि सत्य, निष्ठा र इमानदारीका साथ राष्ट्र तथा जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताका रूपमा ओखलढुंगाबासीको सेवामा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सत्य, तथ्य र विधिको शासनमा विश्वास गर्ने बताएका छन्।
प्रेस विज्ञप्तिमा पोखरेलले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति खेद व्यक्त गर्दै सम्बन्धित सञ्चारमाध्यमलाई आफ्नो धारणा समेट्न आग्रह गरेका छन्।