Loading

उत्तर कोरियाद्वारा पूर्वी तटबाट क्षेप्यास्त्र प्रक्षेपण, कोरियाली प्रायद्वीपमा तनाव बढ्दै

उत्तर कोरियाद्वारा पूर्वी तटबाट क्षेप्यास्त्र प्रक्षेपण, कोरियाली प्रायद्वीपमा तनाव बढ्दै

सियोल, १८ कात्तिक । उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँग सम्भावित कूटनीतिक संवादको चर्चा भइरहेका बेला प्योङयाङले पुनः हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा सुरक्षा तनाव थप चासोको विषय बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि उत्तर कोरियाले आफ्नो सैन्य क्षमता प्रदर्शनलाई निरन्तरता दिएको छ । विश्लेषकहरूले सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन प्योङयाङले हतियार परीक्षणलाई प्राथमिकता दिएको हुन सक्ने बताएका छन् ।

यसैबीच, अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय मञ्च बाइनान्समा भएको अर्बौं डलरको चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न रहेको आरोप लगाएको छ । उत्तर कोरियाले भने उक्त आरोप अस्वीकार गरेको छ ।

एफबीआईले यस घटनालाई गत वर्ष बाइबिटबाट करिब एक अर्ब ५० करोड अमेरिकी डलर चोरी गरेको आरोप लागेको ‘ट्रेडरट्रेटर’ समूहसँग जोडेको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी आरोपलाई वासिङ्टनको शत्रुतापूर्ण नीतिको निरन्तरताका रूपमा व्याख्या गर्दै आलोचना गरेकी छन् । उनले अमेरिकासँगको संवादले उत्तर कोरियाको राष्ट्रिय हित पूरा नगर्ने धारणा व्यक्त गरेकी छन् ।

उत्तर कोरियाले पछिल्लो समय ब्यालेस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्र, आक्रमणकारी ड्रोन र क्लस्टर बमलगायतका हतियार परीक्षण गर्दै आएको छ । मङ्गलबार परीक्षण गरिएको नयाँ क्लस्टर वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र प्रभावित पार्न सक्ने प्योङयाङको दाबी छ ।

उता, दुई कोरियाबीचको सीमा तनावसमेत बढ्दै गएको छ । सेप्टेम्बरमा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए । दक्षिण कोरियाले उत्तर कोरियामाथि सैन्य सीमाङ्कन रेखाको दक्षिणतर्फ सुरुङ बिछ्याएको आरोप लगाउँदै माफी माग्नुपर्ने बताएको छ ।

उत्तर कोरियाले भने उक्त घटनामा आफ्नो जिम्मेवारी अस्वीकार गर्दै प्रतिकारको चेतावनी दिएको छ । प्योङयाङले सीमाक्षेत्रमा प्रचारात्मक लाउडस्पीकर प्रसारण पुनः सुरु गर्ने तथा नयाँ हतियार तैनाथ गर्ने धम्कीसमेत दिएको छ ।

रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *