कैलाली, १८ कात्तिक । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको अपिहिमालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीनदिने अपिहिमाल पर्यटन उत्सव सुरु भएको छ । अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको सहकार्यमा आयोजित उत्सव कात्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।
उत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अपिहिमालजस्ता प्राकृतिक सम्पदाको व्यवस्थित विकास र प्रवद्र्धनमार्फत आर्थिक गतिविधि बढाउनुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताएका छन् ।
उनले सुदूरपश्चिममा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यसको पहिचान, संरक्षण र प्रवद्र्धनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए । अपिहिमाल सुदूरपश्चिमको मात्र नभई देशकै महत्वपूर्ण प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै उनले यसको विकासमा सरकार, स्थानीय तह, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा प्रदेश सभामुख भीम भण्डारीले अपिहिमाललगायत प्रदेशका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले प्रदेशका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । पर्यटकीय गन्तव्यसम्म सहज पहुँच, आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी आर्थिक मामिलामन्त्री चक्र मल्लले पर्यटनलाई प्रदेशको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन आवश्यक योजना निर्माण तथा कार्यान्वयन भइरहेको बताए ।
कृषिमन्त्री दामोदर भण्डारीले पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए । पर्यटकलाई स्थानीय कृषि उपज तथा अन्य उत्पादनको उपभोग गर्ने वातावरण बनाउन सके किसान र व्यवसायीले पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्ने उनले बताए ।
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मानबहादुर धामीले पर्यटकीय क्षेत्रको विकासका लागि तयार गरिएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । अर्का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विक्रम धामीले अपिहिमाल प्राकृतिक पर्यटनसँगै धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै धार्मिक पर्यटक आकर्षित गर्न आवश्यक पहल गर्नुपर्ने धारणा राखे ।