सिन्धुपाल्चोक । नेपाली कांग्रेसको देउवा समूहको सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत सर्वसम्मत चयन भएका छन् ।
सोमबार बाह्रबिसेमा सम्पन्न जिल्ला अधिवेशनबाट बस्नेत सभापतिमा चयन भएका हुन् । उनी यसअघि कांग्रेसको क्षेत्रीय सभापतिको जिम्मेवारीमा समेत रहेका थिए ।
अधिवेशनबाट उपसभापतिमा गोरखध्वज लामा र प्रदीप गुरुङ चयन भएका छन् । त्यसैगरी सचिवमा नीराजन चौलागाईं र रामचन्द्र बुढाथोकी तथा सहसचिवमा रूपक पुरी चयन भएका छन् ।
कोषाध्यक्षमा सुजन पौडेल निर्विरोध चयन भएका छन् । अधिवेशनले जिल्ला सदस्यहरूमा कुलबहादुर न्यौपाने, शेरबहादुर राय, श्यामसुन्दर पाख्रिन, विष्णुमाया तामाङ र अनिल तामाङलगायतलाई चयन गरेको छ ।
नवनिर्वाचित सभापति बस्नेतका अनुसार जिल्ला तथा अन्य पदाधिकारीहरूको चयन प्रक्रिया बुधबारसम्म अन्तिम चरणमा पुगेको छ । केही पदमा चयन प्रक्रिया बाँकी रहे पनि अधिकांश पदाधिकारी तथा सदस्यहरूको टुंगो लागिसकेको उनले जानकारी दिएका छन् ।