सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको स्थानीय तहगत विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार जिल्लाका आठ स्थानीय तहमा कुल ८५ हजार ५६९ मतदाता रहेका छन्।
जिल्लामा सबैभन्दा बढी मतदाता सोलुदुधकुण्ड नगरपालिकामा रहेका छन्। नगरपालिकामा १० हजार ५४१ पुरुष र १० हजार ५२ महिला गरी कुल २० हजार ५९३ मतदाता रहेका छन्। यहाँ २९ वटा मतदान स्थल तोकिएका छन्।
त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिकामा १६ हजार १६१, माप्य दुधकोशी गाउँपालिकामा १० हजार ९३७ र नेचासल्यान गाउँपालिकामा १० हजार ९०३ मतदाता रहेका छन्। यी स्थानीय तहमा क्रमशः २३, १५ र १५ वटा मतदान स्थल रहेका छन्।
महाकुलुङ गाउँपालिकामा ८ हजार ३१४, सोताङ गाउँपालिकामा ७ हजार २६१ र खुम्बु पासाङल्हामु गाउँपालिकामा ६ हजार १०२ मतदाता रहेका छन्। यहाँ क्रमशः ११, १२ र ११ वटा मतदान स्थल तोकिएका छन्।
जिल्लामा सबैभन्दा कम मतदाता लिखुपिके गाउँपालिकामा रहेका छन्। त्यहाँ २ हजार ८१४ पुरुष र २ हजार ४८४ महिला गरी कुल ५ हजार २९८ मतदाता छन्। गाउँपालिकामा जिल्लामै सबैभन्दा कम सातवटा मतदान स्थल रहेका छन्।
सार्वजनिक विवरणअनुसार जिल्लाका आठवटै स्थानीय तहमा ‘अन्य’ विधाका मतदाताको संख्या शून्य रहेको छ। मतदाता तथा मतदान स्थलको विवरण सार्वजनिक भएसँगै आगामी निर्वाचनको तयारी र व्यवस्थापनमा निर्वाचन कार्यालय तथा राजनीतिक दललाई सहज हुने अपेक्षा गरिएको छ।