रामेछाप, २० कार्तिक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका रामेछापका ३७ जनाको विवरण आधिकारिकता यकिनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइने भएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहबाट प्राप्त विवरण एकीकृत गरी अनुसूची–१ मा समावेश ३७ जनाको नामावलीसहित बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।
रामेछापका स्थायी बासिन्दा भए पनि विभिन्न कामको सिलसिलामा रसुवालगायतका जिल्लामा पुगेका बेला गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी उनीहरू बेपत्ता भएका थिए ।
बैठकले सरकारको ‘रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिकता विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ अनुसार स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत गरी आधिकारिकता यकिनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरकारी कार्यालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।