रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा सञ्चालित श्री समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरणपछिको १०औँ वार्षिक साधारण सभा शनिबार उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा सम्पन्न भएको छ।
संस्थाले विभिन्न सेवा केन्द्रमा छुट्टाछुट्टै साधारण सभा आयोजना गरेपछि केन्द्रीय कार्यालय रहेको बाम्तीभण्डारमा अन्तिम साधारण सभा सम्पन्न गरेको हो। यसअघि कात्तिक १८ गते प्रीति, १९ गते गुम्देल र २० गते कुबुँ सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरिएको थियो।
संस्थाले सार्वजनिक गरेको २०८३ साल असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार सहकारीमा २ हजार ८६२ जना शेयर सदस्य रहेका छन्। तीमध्ये १ हजार ३६२ महिला र १ हजार ४८० पुरुष शेयर सदस्य छन्। संस्थामा ५९२ जना बाल बचतकर्ता र ५६२ जना ऋणी शेयर सदस्य रहेको विवरणमा उल्लेख छ।
वित्तीय विवरणअनुसार संस्थाको कुल बचत संकलन करिब २० करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब १७ करोड ३१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, संस्थाको कुल सम्पत्ति करिब २४ करोड ४३ लाख रुपैयाँ रहेको छ। संस्थाको तरलता अनुपात २९.९८ प्रतिशत रहेको विवरणमा उल्लेख गरिएको छ।
साधारण सभामा संस्थाका सचिव जीवन घतानेले वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए। अध्यक्ष शिवबहादुर बस्नेतले संस्थाको गतिविधि तथा आगामी योजनाबारे आफ्नो मन्तव्य राखेका थिए।
त्यसैगरी कोषाध्यक्ष लक्ष्मी बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाका व्यवस्थापक दीपक कार्कीले कोषाध्यक्षको प्रतिवेदनसम्बन्धी विवरण प्रस्तुत गरेका थिए।
उमाकुण्ड गाउँपालिकाका विभिन्न सेवा केन्द्रमार्फत सदस्यहरूलाई बचत तथा ऋण सेवा प्रदान गर्दै आएको संस्थाले स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउँदै आएको छ। संस्थासँग आबद्ध समृद्धि दुग्ध डेरी तथा बेकरी उद्योगसमेत सञ्चालनमा रहेको छ।
विभिन्न सेवा केन्द्रमा साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने विद्यालय परिवार तथा स्थानीय सहयोगीप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।




