सोलुखुम्बु । सोलुखुम्बुमा तिहारको अवसरमा खेलिने देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले शुक्रबार सूचना जारी गर्दै शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वलाई सभ्य, मर्यादित र सुरक्षित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको हो।
कार्यालयले शान्ति सुरक्षा, सार्वजनिक सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा नौबुँदे आचारसंहिता पालना गर्न अनुरोध गरेको छ।
आचारसंहिताअनुसार चाडपर्वमा आगलागीबाट बच्न दियो, मैनबत्ती तथा विद्युतीय बत्ती प्रयोग गर्दा सावधानी अपनाउन र भुइँचम्पा, रकेट तथा पटाकाजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण तथा प्रयोग नगर्न भनिएको छ।
त्यसैगरी, देउसी–भैलोलाई मौलिक संस्कृति र परम्पराको संरक्षण हुने गरी मर्यादित रूपमा सञ्चालन गर्न, मादक पदार्थ सेवन, होहल्ला, झैझगडा तथा जबर्जस्ती चन्दा वा दक्षिणा असुल नगर्न प्रशासनले सचेत गराएको छ।
मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न र ट्राफिक नियमको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने कार्यमाथि कडा निगरानी राखिने सूचनामा उल्लेख छ।
अस्पताल, विद्यालय तथा स्वास्थ्य संस्थाजस्ता संवेदनशील क्षेत्रमा ध्वनि प्रदूषण नगर्न, कुनै पनि जातजाति, धर्म, भाषा तथा समुदायको मानमर्दन हुने गीत, नारा वा गतिविधि नगर्न पनि प्रशासनले अनुरोध गरेको छ।
देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब तथा सङ्घसंस्थाले आवश्यक समन्वयका लागि सम्बन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभएको छ।
त्यस्तै, सवारी आवागमन तथा पैदलयात्रीलाई अवरोध नपुग्ने गरी कार्यक्रम सञ्चालन गर्न र निजी घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा कार्यक्रम गर्दा सम्बन्धित व्यक्तिको पूर्वसहमति लिन प्रशासनले आग्रह गरेको छ।