नुम्बुर खबर | स्मृतिका पाना | रामेछाप
बाल्यकालको तिहार, साथीभाइको जमघट, रातभरि गुञ्जिने देउसी–भैलोका भाका र सानो दक्षिणी हात पर्दाको खुसी । समयसँगै यी सबै सम्झनामा सीमित हुँदै गएका छन्। उमाकुण्ड गाउँपालिकाका शिक्षा शाखा अधिकृत ङावा शेर्पाले बाल्यकालको तिहार सम्झँदै सामाजिक सञ्जालमार्फत यस्तै भावुक स्मृति साझा गर्नुभएको छ।
दीपावलीको अवसरमा आफ्नो फेसबुक वालमा लेख्दै अधिकृत शेर्पाले विगतको तिहारको मौलिकता, बाल्यकालको उत्साह र अहिलेको चाडपर्व मनाउने शैलीबीचको भिन्नतालाई स्मरण गर्नुभएको हो।
उहाँका अनुसार बाल्यकालमा तिहार आउनुभन्दा २०–२२ दिन अघिदेखि नै देउसी–भैलोको तयारी सुरु हुन्थ्यो। लठ्ठी तयार पारेर सुकाउने, साथीभाइसँग समूह बनाउने, भट्याउने अभ्यास गर्ने र देउसी खेल्ने योजना बनाउने क्रम चलिरहन्थ्यो। तिहारको प्रतीक्षामै दिनहरू बित्थे।
तिहार सुरु भएपछि गाउँभरिका साथीभाइको समूह बनाएर रातभरि लठ्ठी ठटाउँदै देउसी–भैलो खेल्न निस्कने गरेको उहाँले स्मरण गर्नुभएको छ। कुन घरबाट कति दक्षिणा पाइएला भन्ने कौतूहलले रातभरि निद्रासमेत नलाग्ने गरेको उहाँको अनुभव छ। कतै मिठामिठा खानेकुरा पाइन्थे त कतै केही पनि नदिने अवस्था हुन्थ्यो। राति ढोका नखोल्ने घरदेखि दिउँसै जाँदा ताल्चा लागेको भेटिने घरसम्मका अनुभवले बाल्यकालका ती दिनलाई अझ रोचक बनाएको उहाँले उल्लेख गर्नुभएको छ।
“कुन घरबाट कति पैसा पाइएला भन्ने कौतूहलले रातभरि निद्रासमेत लाग्दैनथ्यो,” शेर्पाले आफ्नो स्मरणमा लेख्नुभएको छ।
त्यतिबेला देउसी–भैलो खेलेबापत पाँच, बीस र पचास रुपैयाँसम्म पाइने गरेको उहाँले बताउनुभएको छ। सबैभन्दा बढी एक सय रुपैयाँ दक्षिणा पाएको सम्झना अझै ताजै रहेको उहाँको भनाइ छ। रकम सानो भए पनि साथीभाइसँग मिलेर देउसी खेल्दा र अन्त्यमा संकलित पैसा बाँड्दा पाइने खुसी भने अमूल्य थियो।
भाइटीकाको दिन साँझ घामले लिखु खोला तरिसकेपछि देउसी–भैलो खेल्न नपाइने स्थानीय चलन रहेको उहाँले स्मरण गर्नुभएको छ। खेलिसकेपछि सबै साथीभाइ एक ठाउँमा जम्मा भएर संकलित रकम बाँड्ने र आफ्नो भागमा परेको पैसा हात पर्दा छुट्टै सन्तुष्टि मिल्ने गरेको उहाँको अनुभव छ।
समयसँगै उमेर फेरियो, परिवेश बदलियो र जीवनका जिम्मेवारी थपिए। आज न ती लठ्ठी छन्, न साथीभाइको पहिलेको जस्तो जमघट, न त गाउँभरि रातभरि गुञ्जिने देउसी–भैलोका भाका नै। तर बाल्यकालका ती रमाइला क्षणहरू सम्झनामा भने अझै उत्तिकै ताजा छन्।
वर्तमानमा तिहार मनाउने शैली फेरिँदै गएको अनुभूति गर्दै शेर्पाले चाडपर्वको वास्तविक उमङ्ग र रमाइलोपन बाल्यकालमै हुने गरेको भाव व्यक्त गर्नुभएको छ।
“साँच्चै, चाडपर्व त बाल्यकालकै लागि रहेछन्। अहिले पनि तिहार आउँछ, दीपावली मनाइन्छ, देउसी–भैलो खेलिन्छ, तर बाल्यकालमा जस्तो निश्चल खुसी, उत्साह र उमङ्ग भने फेरि फर्केर आउँदैन,” उहाँले लेख्नुभएको छ।
शेर्पाको यो स्मरण केवल व्यक्तिगत अनुभव मात्र होइन, गाउँघरको पुरानो तिहार, आपसी आत्मीयता र बाल्यकालका अविस्मरणीय क्षणहरूको साझा कथा पनि हो। आधुनिक समयसँगै चाडपर्वको स्वरूप फेरिँदै जाँदा पुराना परम्परा र सामूहिक रमाइलोपनको सम्झना धेरैका लागि भावनात्मक बन्ने गरेको छ।
ती सुनौला दिनहरूको सम्झनासँगै शिक्षा अधिकृत शेर्पाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। -मनिराज सुनुवार