Loading

इजरायल रोजगारी ठगी प्रकरण : भरत चौलागाईं पुर्पक्षका लागि कारागार चलान

इजरायल रोजगारी ठगी प्रकरण : भरत चौलागाईं पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका रामेछापका भरत चौलागाईं पुर्पक्षका लागि कारागार चलान भएका छन्।

काठमाडौँ जिल्ला अदालतले शुक्रबार भएको थुनछेक बहसपछि रामेछापको सुनापति गाउँपालिका–१ निवासी तथा नेपाली कांग्रेसका निवर्तमान महाधिवेशन प्रतिनिधि चौलागाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशअनुसार उनलाई डिल्लीबजार कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीले जानकारी दिएका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नामसमेत दुरुपयोग गरी ठगी गरेको आरोप लागेका चौलागाईंलाई प्रहरीले गत असोज १ गते पक्राउ गरेको थियो।

यस प्रकरणमा संलग्न अन्य चार आरोपीलाई भने अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। बालिका शिवाकोटीलाई १ लाख, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई जनही २ लाख ५० हजार तथा दीपेन्द्रसिंह सामन्तलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो।

प्रहरी अनुसन्धानअनुसार चौलागाईंको समूहले इजरायलमा केयर गिभरको रोजगारी दिलाउने आश्वासनमा १५६ जना युवाबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको आरोप छ।

सन् २०२४ मा इजरायलमा कामदार पठाउन सरकारले लक्की ड्रमार्फत २ हजार ९९ जनाको नाम छनोट गरेको थियो। छनोटमा नपरेका तर इजरायल जान इच्छुक व्यक्तिलाई रोजगारीमा पठाइदिने भन्दै रकम असुल गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यस प्रकरणकी आरोपी बालिका शिवाकोटीले आफूले पीडितबाट सङ्कलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई बुझाइसकेको बयान दिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *