सुनसरी । तिहारमा हुन सक्ने आपराधिक गतिविधि तथा सुरक्षा जोखिम नियन्त्रण गर्न कोसी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीले नियमित सुरक्षासँगै मोबाइल गस्ती, सादा पोसाकका प्रहरी तथा विशेष निगरानी टोली परिचालन गरेको हो ।
तिहारमा देउसीभैलो, सांस्कृतिक कार्यक्रम र बजार क्षेत्रमा हुने भीडभाडलाई ध्यानमा राख्दै प्रहरीले चोरी, लुटपाट, जुवातास, तस्करी तथा प्रतिबन्धित पटका प्रयोग नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।
विशेषगरी चाडपर्वका बेला जुवातास खेल्ने तथा खेलाउने गतिविधि बढ्न सक्ने भएकाले त्यसको निगरानी र नियन्त्रणका लागि छुट्टै प्रहरी टोली परिचालन गरिएको छ । होटल, रेस्टुरेन्ट, सार्वजनिक स्थल तथा शंकास्पद स्थानमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार सम्भावित सुरक्षा जोखिमको मूल्यांकन गरी प्रदेशभर प्रहरी परिचालन गरिएको हो । नियमित ड्युटीबाहेक मोबाइल गस्ती र सादा पोसाकका प्रहरीसमेत खटाइएको उनले बताए ।
प्रहरीले तिहारमा झिलिमिली बत्ती प्रयोग गर्दा हुन सक्ने आगलागीका घटनाप्रति पनि सचेत गराएको छ । विद्युत् जडानमा सावधानी अपनाउन, प्रतिबन्धित पटका तथा विस्फोटक पदार्थ प्रयोग नगर्न र देउसीभैलो खेल्दा अरूलाई असर नपर्ने गरी समय तथा स्थानको ख्याल गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
त्यस्तै, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै एकअर्काको पर्व र परम्पराको सम्मान गर्न प्रहरीले अनुरोध गरेको छ । कानुनविपरीतका गतिविधिमा संलग्न भएको पाइए कारबाही गरिने चेतावनी दिँदै प्रहरीले शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ ।