रसुवा । रसुवाको स्याफ्रुबेँसीमा काठेपुल पुनर्निर्माण गरिएसँगै लामो समयदेखि अवरुद्ध आवतजावत सहज बनेको छ ।
गोसाईंकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा पालिका, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, नागरिक समाज तथा स्थानीय बासिन्दाको संयुक्त पहल र श्रमदानमा काठेपुल निर्माण गरिएको हो ।
यसअघि गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेँसीस्थित पक्की पुल र सडक खण्ड बगाएपछि रसुवाको उत्तरी क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो । त्यसपछि अस्थायी रूपमा निर्माण गरिएको काठेपुलसमेत गत कात्तिक १४ गते नदीको बहाव बढ्दा बगाएको थियो ।
पुल र सडक सञ्जाल अवरुद्ध हुँदा गोसाईंकुण्ड गाउँपालिका–१ देखि ५ र आमाछोदिङ्मो गाउँपालिका–१ देखि ५ सम्मका स्थानीयवासीले लामो समयदेखि आवतजावतमा कठिनाइ भोग्दै आएका थिए ।
नेपाल रेडक्रस सोसाइटी, दुवै गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सक्रिय सहभागितामा पुनर्निर्माण गरिएको काठेपुल सञ्चालनमा आएपछि स्थानीयवासी तथा पैदल यात्रुलाई ठूलो राहत मिलेको छ ।
आमाछोदिङ्मो गाउँपालिका–५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर)का अनुसार पुल निर्माणसँगै दुवै गाउँपालिकाका बासिन्दाको पैदल आवतजावत सहज भएको छ । रासस