रामेछाप । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइँदैछ ।
यस अवसरमा किसानले वर्षभरि खेतबारी जोतेर कृषि कार्यमा सहयोग पुर्याउने गोरु तथा हलिलाई मीठा परिकार खान दिएर सम्मान गर्ने परम्परा छ । यस दिनलाई हलि तिहारका रूपमा समेत मनाइन्छ ।
गोवर्द्धन पूजाका अवसरमा घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाएर त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको स्मरणमा गोवर्द्धन पूजा गर्ने परम्परा सुरु भएको धार्मिक विश्वास छ ।
त्यसैगरी, भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक मान्यताअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ ।
कृषि कार्यमा महत्वपूर्ण योगदान पुर्याउने गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । यस पर्वले कृषि कर्म, पशुपालन र प्रकृतिप्रतिको सम्मानलाई विशेष महत्व दिएको छ ।