काठमाडौं । रुससँग बढ्दो सुरक्षा तनावबीच आठ नाटो सदस्य राष्ट्रले बाल्टिक सागरमा पाँचदिने पनडुब्बीविरोधी सैन्य अभ्यास सुरु गरेका छन् ।
सोमबारदेखि शुक्रबारसम्म स्विडेनको नेतृत्वमा सञ्चालन हुने अभ्यासमा बेलायत, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी र नेदरल्यान्ड्स सहभागी छन् ।
नाटोका अनुसार अभ्यासमा हजारौँ नौसैनिक, जर्मनी र स्विडेनका पनडुब्बी, युद्धपोत तथा हवाई गस्तीका साधन परिचालन गरिनेछ । अभ्यासको मुख्य उद्देश्य समुद्रमुनि रहेका पनडुब्बी पत्ता लगाउने र निगरानी क्षमता अभिवृद्धि गर्नु रहेको छ ।
नाटोका वरिष्ठ नौसैनिक कमाण्डर रियर एडमिरल जोन क्र्याडकले पनडुब्बीलाई निरन्तर सुरक्षा चुनौतीका रूपमा व्याख्या गर्दै तिनलाई पत्ता लगाउने क्षमता नियमित अभ्यासबाट मात्रै प्रभावकारी बनाउन सकिने बताएका छन् ।
यसैगरी, फ्रान्सेली नौसेनाका रियर एडमिरल निकोलस मोलिटरले बाल्टिक सागरमा रहेका समुद्रमुनिका केबल तथा पाइपलाइनको सुरक्षामा चुनौती बढ्दै गएको बताएका छन् । उनका अनुसार समुद्रमुनि सञ्चालन हुने मानवरहित उपकरण तथा जहाजका लङ्गरबाट समेत महत्वपूर्ण पूर्वाधारमा क्षति पुग्न सक्ने जोखिम छ ।
रुसमाथि पश्चिमी राष्ट्रहरूले समुद्रमुनिका पूर्वाधारलाई लक्षित गरी हाइब्रिड गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै आएका छन् । रणनीतिक रूपमा महत्वपूर्ण मानिने बाल्टिक सागर पछिल्लो समय नाटो र रुसबीचको सुरक्षा चासोको प्रमुख क्षेत्र बनेको छ ।