सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ घुम्नेमेरास्थित हर्तलुङ तुम्देन सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
सोमबार दिउँसो करिब १ बजे वन क्षेत्रमा अचानक डढेलो लागेको हो । आगलागीको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा वन उपभोक्ता समूहसँगको समन्वयमा आगो नियन्त्रणको प्रयास गरिरहेको जनाएको छ । सुख्खा मौसम, तीव्र हावा र पर्याप्त पानीको अभावका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ ।
आगलागी बस्ती क्षेत्रमा फैलिन नदिन सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण र आगो लाग्नुको कारण भने खुल्न सकेको छैन ।