ओखलढुंगा । ‘हिमाल हाम्रो गौरव, पर्यटन हाम्रो पहिचान’ भन्ने नारासहित ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा खिजीदेम्बा रक महोत्सव २०८३ आयोजना हुने भएको छ। महोत्सवअन्तर्गत आगामी मंसिर २० र २१ गते महिला तथा पुरुष पर्वतारोहीबीच खुला प्रतियोगिता सञ्चालन गरिने भएको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुक महिला तथा पुरुष पर्वतारोहीका लागि आयोजकले आवेदन फाराम खुला गरेको छ। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले १ लाख १ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ४० हजार तथा चौथो र पाँचौँ हुनेले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, महिलातर्फ प्रथम हुनेले ७० हजार रुपैयाँ, दोस्रो हुनेले ३५ हजार, तेस्रो हुनेले २५ हजार तथा चौथो र पाँचौँ हुनेले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दुवै विधाका विजेताले नगद पुरस्कारसँगै सिल्ड, मेडल र प्रमाणपत्रसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ।
खिजीदेम्बा गाउँपालिका–स्थित सुरीबिरमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन ४ हजार १०० रुपैयाँ फाराम शुल्क तोकिएको छ। प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको खानपान, आवास तथा यातायातको व्यवस्था आयोजकले नै गर्ने जानकारी दिइएको छ।
खिजीदेम्बा गाउँपालिकाको आयोजनामा हुन लागेको महोत्सव तथा प्रतियोगितालाई नेपाल राष्ट्रिय पर्वतारोहण तथा प्रदर्शक संघले प्राविधिक सहयोग गर्नेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले मंसिर १५ सम्म आवेदन फाराम भर्न सक्नेछन्। महोत्सवले पर्वतीय पर्यटन प्रवर्द्धनसँगै साहसिक खेलमार्फत खिजीदेम्बालाई पर्यटन गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।