काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ को अवसरमा विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी एक मिनेटको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘जलवायुका लागि बालबालिका’ शीर्षकमा आयोजना हुने प्रतियोगिताको उद्देश्य जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि समुदायस्तरमा गर्न सकिने प्रयासको प्रवर्द्धन गर्नुका साथै बालबालिकामा वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्नु रहेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले विभिन्न साझेदार संस्थासँगको सहकार्यमा आगामी ७ देखि १३ मंसिरसम्म हरेक दिन फरक–फरक कार्यक्रमसहित ‘काठमाडौं जलवायु कार्य सप्ताह’ सञ्चालन गर्दैछ । सोही सप्ताहअन्तर्गत बालबालिकाको सिर्जनात्मक क्षमता र जलवायु परिवर्तनसम्बन्धी बुझाइ उजागर गर्ने उद्देश्यले भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन् । काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा बालबालिका तथा महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सात जना सहभागीलाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।