Loading

प्रयोगकर्ताको फोटोमा अनुमतिविना पहुँच गरेको आरोपमा मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना

प्रयोगकर्ताको फोटोमा अनुमतिविना पहुँच गरेको आरोपमा मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटामाथि प्रयोगकर्ताको स्पष्ट सहमतिविना व्यक्तिगत फोटो तथा भिडियोमा पहुँच प्राप्त गरेको आरोपमा इटालीले ८८ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ३४ अर्ब रुपैयाँ) जरिवाना गरेको छ।

बीबीसीका अनुसार इटालीको डेटा संरक्षण नियामक निकायले एन्ड्रोइड प्रयोगकर्ताको फोटो तथा भिडियोमा पहुँच प्राप्त गर्ने प्रक्रियामा पर्याप्त पारदर्शिता नअपनाएको भन्दै मेटामाथि कारबाही गरेको हो।

नियामक निकायका अनुसार फेसबुक एपमा उपलब्ध एउटा सुविधामार्फत कम्पनीले प्रयोगकर्ताको फोटो तथा भिडियो ग्यालरीमा पहुँच प्राप्त गर्न सक्ने व्यवस्था थियो। तर, यस्तो पहुँचका लागि अनुमति माग्दा त्यसको वास्तविक प्रयोजनबारे प्रयोगकर्तालाई पर्याप्त जानकारी नदिइएको पाइएको छ।

फेसबुकले प्रयोगकर्तासँग एपमार्फत उनीहरूको सम्पूर्ण फोटो ग्यालरीमा पहुँच प्राप्त गर्न एकपटक अनुमति माग्ने गरेको थियो। तर, उक्त अनुमतिमार्फत तस्वीरका आधारमा व्यक्तिगत पोस्ट तथा सामग्री सुझाव दिन सकिने विषय स्पष्ट रूपमा जानकारी नगराइएको नियामकको ठहर छ।

यस प्रक्रियाबाट करिब दुई करोड प्रयोगकर्ता प्रभावित भएको इटालीको डेटा सुरक्षा निकायले जनाएको छ।

नियामक निकायले मेटालाई ६० दिनभित्र उक्त सुविधा स्वतः सक्रिय हुने व्यवस्था अन्त्य गर्न र प्रयोगकर्ताबाट यस प्रयोजनका लागि छुट्टै तथा स्पष्ट सहमति लिन निर्देशन दिएको छ।

एप अपडेट नगरेका वा यसअघि नै उक्त सुविधाका लागि अनुमति दिइसकेका प्रयोगकर्ताका हकमा समेत समस्या कायमै रहेको नियामकको भनाइ छ।

यो घटनाले सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको व्यक्तिगत डेटा प्रयोग गर्दा पारदर्शिता र सहमतिको सिद्धान्त पालना गर्नुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ।

डिजिटल प्लेटफर्ममा फोटो, भिडियो तथा अन्य व्यक्तिगत विवरणको पहुँचसम्बन्धी अनुमति केवल प्राविधिक प्रक्रिया नभई प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले प्रयोगकर्तालाई कुन डेटा, के प्रयोजनका लागि र कति समयसम्म प्रयोग गरिन्छ भन्ने स्पष्ट जानकारी दिनु कम्पनीहरूको दायित्व मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *