Loading

प्रादेशिक अस्पताल निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालयमा आमरण अनसन बस्ने तयारी

प्रादेशिक अस्पताल निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालयमा आमरण अनसन बस्ने तयारी

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम अघि नबढेको भन्दै स्थानीयले आन्दोलन थप सशक्त बनाउने भएका छन्। अस्पताल निर्माणको माग पूरा नभएको भन्दै प्रादेशिक अस्पताल तथा मेडिकल कलेज संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा अनिश्चितकालीन आमरण अनसन सुरु गर्ने तयारी गरेको छ।

संघर्ष समितिले लामो समयदेखि प्रदेश सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि माग सम्बोधन नभएको जनाएको छ। पटक–पटक माग राख्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउनुपरेको समितिको भनाइ छ।

संघर्ष समितिका संयोजक माधव ढुंगानाका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार आगामी कात्तिक ३० गतेदेखि आमरण अनसन सुरु गर्ने तयारी गरिएको छ। त्यसका लागि संयोजक ढुंगानासहित अर्जुनकुमार गौतम, लक्ष्मण भुजेल र सागर गौतमलगायत १५ देखि २० जनाको टोली विराटनगर पुगिसकेको छ।

योजनाअनुसार कात्तिक ३० गते दिउँसोदेखि चार जना प्रतिनिधि अनिश्चितकालीन आवासीय आमरण अनसनमा बस्नेछन्। मुख्यमन्त्री कार्यालय परिसरभित्र अनसन बस्न अनुमति प्राप्त भए कार्यालयभित्रै र अनुमति नपाए प्रवेशद्वारबाहिर बसेर भोक हड्ताल गर्ने तयारी गरिएको समितिले जनाएको छ।

प्रस्तावित अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकारले स्थानीयवासीबाट १६७ रोपनी जग्गा निःशुल्क प्राप्त गरेको थियो। तर, जग्गा सम्याउने काम सम्पन्न भए पनि त्यसपछि निर्माण प्रक्रिया अघि नबढेको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन्।

अस्पताल निर्माणको काम तत्काल सुरु गर्नुपर्ने माग राख्दै स्थानीयले यसअघि गएको फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसमेत बहिष्कार गरेका थिए।

स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराइसक्दा पनि अस्पताल निर्माण प्रक्रिया अघि नबढ्नुले क्षेत्रको स्वास्थ्य सेवा तथा विकासको अपेक्षा प्रभावित भएको बताउँदै आएका छन्। संघर्ष समितिले प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम शीघ्र सुरु गर्नुपर्ने मागलाई प्रमुख मुद्दा बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *