ओखलढुंगा । आगामी स्थानीय तह निर्वाचनलाई व्यवस्थित, सहज र सुरक्षित बनाउन ओखलढुंगामा मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन र व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सोमबार बैठक आयोजना गरी जिल्लामा रहेका मतदानस्थल तथा मतदान केन्द्रको अवस्था, उपयुक्तता र आवश्यकताबारे छलफल गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा बसेको बैठकमा मतदातालाई सहज रूपमा मतदान गर्ने वातावरण निर्माण गर्न मतदानस्थल थप्ने, स्थानान्तरण गर्ने वा हालकै स्थानलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।
प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक टुवराज पोखरेलको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
ओखलढुंगामा हाल ८४ वटा मतदानस्थल र १५७ वटा मतदान केन्द्र रहेका छन् । जिल्लाका केही स्थानमा मतदानस्थल तथा केन्द्र थपघट वा हेरफेर गर्नुपर्ने आवश्यकता औँल्याइए पनि अधिकांश स्थानमा हाल कायम मतदानस्थललाई नै व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवालाले जोड दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी सुनिता अर्यालका अनुसार मतदानस्थल सिफारिस गर्दा मतदाताको सङ्ख्या, भौगोलिक अवस्था, यातायात तथा पहुँचको सुविधा, वैकल्पिक मार्ग, भौतिक पूर्वाधार र सुरक्षा अवस्थालाई प्राथमिकतामा राखिनेछ । त्यस्तै, मतदानस्थलमै मतगणना गर्न सकिने सम्भावना तथा सरोकारवालाबीचको सहमतिलाई समेत आधार बनाइनेछ ।
निर्धारित मापदण्डअनुसार प्रत्येक गाउँपालिका तथा नगरपालिकाको वडामा कम्तीमा एउटा मतदानस्थल हुनुपर्ने व्यवस्था छ । सामान्यतया सहरी क्षेत्रमा दुई किलोमिटर र ग्रामीण क्षेत्रमा चार किलोमिटरभन्दा बढी दूरी नपर्ने गरी मतदानस्थल निर्धारण गर्नुपर्ने प्रावधान छ ।
भौतिक पूर्वाधार जीर्ण भएका वा सुरक्षाका दृष्टिले अनुपयुक्त रहेका मतदानस्थललाई सोही वडाभित्रको अर्को उपयुक्त स्थानमा सार्न सकिनेछ । सम्भव भएसम्म खुला चौर तथा धार्मिक स्थलमा मतदानस्थल नराख्ने मापदण्डसमेत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी, मतदाता नामावलीअनुसार तोकिएको मतदानस्थल वा केन्द्र अपायक परेको अवस्थामा मतदाताले जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर वा अनलाइन प्रक्रियामार्फत विवरण सच्याउन सक्ने व्यवस्था रहेको छ ।
निर्वाचनलाई मतदातामैत्री र सुरक्षित बनाउन जिल्लाभरका मतदानस्थल तथा केन्द्रको आवश्यक पुनरावलोकन गरी सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।