दोलखा । दोलखाको जिरी नगरपालिकामा नागरिकका समस्या, गुनासा तथा सुझाव सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय जिरीको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्थानीय नागरिकले आफ्ना समस्या, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए । सहभागी नागरिकबाट प्राप्त गुनासा तथा सुझावमाथि सम्बन्धित निकायका प्रतिनिधिहरूले सुनुवाइ गर्दै समाधानका सम्भावित उपायबारे छलफल गरेका थिए ।
सार्वजनिक सुनुवाइमार्फत नागरिक र सरकारी निकायबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्दै स्थानीय तहमा देखिएका समस्या पहिचान तथा समाधानका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमले सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा तथा नागरिकका सरोकारका विषयमा सम्बन्धित निकायलाई जवाफदेही बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।