Loading

साउदी अरबमा अमेजनका गोदाममा नेपाली श्रमिकमाथि शोषण कायमै : एम्नेस्टी

साउदी अरबमा अमेजनका गोदाममा नेपाली श्रमिकमाथि शोषण कायमै : एम्नेस्टी

काठमाडौं । साउदी अरबमा अमेजनका गोदाममा कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकले रोजगारीको असुरक्षा, पारिश्रमिक नपाउने र दुर्व्यवहारजस्ता समस्या भोगिरहेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

एम्नेस्टीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाइएका नेपाली तथा भारतीय श्रमिकलाई अमेजनले जुनसुकै बेला कामबाट हटाउन सक्ने र त्यसपछि हप्तौँदेखि महिनौँसम्म तलबविहीन हुनुपर्ने अवस्था छ।

सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म रियादस्थित अमेजनको गोदाममा कार्यरत वा हालै काम छाडेका २४ नेपाली तथा भारतीय श्रमिकसँग गरिएको अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार गरिएको हो।

प्रतिवेदनमा कामको अत्यधिक दबाब, व्यवस्थापकबाट धम्की, बिदा तथा पारिश्रमिकसम्बन्धी समस्या र उजुरी गर्दा प्रतिशोधको डर हुने गरेको उल्लेख छ। कतिपय श्रमिकलाई स्वदेश फर्कनसमेत कठिनाइ हुने गरेको एम्नेस्टीको निष्कर्ष छ।

एम्नेस्टीले श्रमिकलाई तेस्रो पक्षका कम्पनीमार्फत नभई प्रत्यक्ष रोजगारी दिन र उनीहरूको अधिकार सुनिश्चित गर्न अमेजनलाई आग्रह गरेको छ। अमेजनले भने श्रमिक आपूर्ति कम्पनीमाथिको अनुगमन बढाइएको तथा बाँकी पारिश्रमिक र सुविधा भुक्तानी गर्न निर्देशन दिएको जनाएको छ।

प्रतिवेदनले साउदी अरबमा कफला प्रणालीमा सुधार भए पनि आप्रवासी श्रमिकमाथिको नियन्त्रण र शोषणको जोखिम अझै कायम रहेको औँल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *