Loading

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि एजेन्डा : मल आपूर्ति, पशुपन्छी विकास र ग्रिन युरिया कारखानाबारे छलफल हुने

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि एजेन्डा : मल आपूर्ति, पशुपन्छी विकास र ग्रिन युरिया कारखानाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको प्रस्तावित भारत भ्रमणमा कृषि क्षेत्रका महत्वपूर्ण विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल आपूर्ति, कृषि अनुसन्धान, बिउबिजनको सहज पहुँच तथा पशुपन्छी र मत्स्य विकासमा सहकार्यका प्रस्ताव तयार गरी सरकारसमक्ष पठाएको छ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारतबीच पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने सम्भावना छ। त्यस्तै, म्याद सकिएको रासायनिक मलसम्बन्धी पुरानो समझदारीलाई नवीकरण गर्ने विषयमा पनि छलफल हुन सक्नेछ। यद्यपि, यी विषयमा अन्तिम निर्णय मन्त्रिपरिषद्को अनुमोदन र दुई देशबीचको वार्तापछि मात्रै हुनेछ।

यसैगरी, नेपालमै रासायनिक मल उत्पादन गर्ने उद्देश्यले हरित प्रविधिमा आधारित ‘ग्रिन युरिया’ कारखाना स्थापनाबारे भारतसँग सहकार्यको प्रस्ताव अघि बढाउने तयारी छ।

मन्त्रालयले वार्षिक करिब पाँच लाख मेट्रिक टन ग्रिन युरिया उत्पादन गर्ने कारखानाको सम्भावित लागत, लगानीकर्ता, प्रविधि र सञ्चालन मोडलबारे अध्ययन गर्न अवधारणा माग गरेको छ। सरकारी, निजी वा सार्वजनिक–निजी साझेदारीमध्ये कुन मोडल उपयुक्त हुन्छ भन्ने निर्णय अध्ययनपछि गरिने जनाइएको छ।

मन्त्रालयका यी प्रस्तावहरू मन्त्रिपरिषद्बाट औपचारिक रूपमा स्वीकृत हुन बाँकी छन्। भ्रमणको अन्तिम एजेन्डा र प्रतिनिधिमण्डलको टुंगो लागेपछि मात्रै कृषि क्षेत्रका विषयमा हुने सहकार्य स्पष्ट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *